कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि
काठमाडौं । प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ मा २१ करोड ७८ लाख रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेको हो ।
एक वर्षको अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६१.३६ प्रतिशतले बढेको छ । कम्पनीले कुल ८ अर्ब २ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरि २२ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको छ भने यस अवधिमा ६२ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा घटेर ३.४० प्रतिशतमा झरेको छ भने कष्ट अफ फण्ड ६.४० प्रतिशत, स्प्रेडरेड १.८८ प्रतिशत र रिटन अन इक्युटी १४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको शेयरमूल्य बढेर प्रति शेयर आम्दानी २६.२५ रुपैयाँ र नेथवर्क प्रति शेयर १७९.६३ रुपैयाँ पुगेको छ ।
अग्रज एवम् अनुभवी उद्योगपति शेखर गोल्छा अध्यक्ष भएको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले सन् २०१२ मा राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सुरु गरेको थियो । कम्पनीले सवारी साधन लगायत घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल फोन लगायतका सामानहरुमा सहज र सुलभ फाइनान्सको सुविधा दिदै आएको छ ।
हुलास फिनसर्भको यो आर्थिक उपलब्धिले कम्पनीको सेवा, सुविधा लिनेहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको पुष्टि गरेको छ । हुलास फिनसर्भले दिदै आएको सेवा, सुविधाले विशेषत न्यून तथा मध्यम आयस्रोत भएकाहरूलाई आफ्नो आधारभूत आवश्यकता एवम् रहरहरु पुरा गर्न अत्यन्तै सजिलो भएको छ ।
सीमित आयबाट सपना साकार पार्ने सोच भएका जो कोहिको लागि हुलास फिनसर्भ भरपर्दो आधार बनेर सकेसम्मको सहुलियतपूर्ण सेवा, सुविधा प्रदान गर्ने कार्यमा प्रतिबद्ध छ ।













