अनावश्यक रिङ ब्याक टोन बन्द गराउन टेलिकमविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । नेपाल टेलिकमका ल्याण्डलाइन र मोबाइलमा बजाइने अनावश्यक रिङ ब्याक टोन बन्द गराउन माग गर्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
सञ्चार मन्त्रालय, टेलिकम र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको रिटमा उपभोक्तालाई इच्छा विपरीत टोन सुनाएर मानसिक तनाव दिइएको र वैदेशिक एपहरूको प्रयोग बढ्दा देशको राजस्वमा घाटा भइरहेको जस्ता कारण उल्लेख गरिएको छ ।
रिट दरपीठ भएकोमा पुनः निवेदन दिइएको थियो । जसमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सार्वजनिक सरोकारको विषय देखिएको भन्दै दर्ता गर्न आदेश दिएको हो ।
रिटमा चाडपर्व, मेला, दिवसजस्ता अवसरमा बजाइने टोन तत्काल बन्द गर्न परमादेशसहित अन्तरिम आदेश माग गरिएको छ । सुनुवाइ भदौ ३ गते तोकिएको छ ।















