११ श्रावण २०८३, सोमबार

नाडा अटो शो नेपाली इतिहासकै सर्वोत्कृष्ट हुनेछ: अध्यक्ष चौधरी



यो साल दशैँ र तीज पोहोरभन्दा अलि चाँडै आउँदै छ । त्योभन्दा छिट्टै आउँदै छ— अटो शो । नेपालमा अटो शो गरेर ग्राहकलाई एकै छाना मुनि अनेकौँ ब्राण्डका गाडी छान्ने मौका पस्कँदै आएको नाडा अटोमोबाइल्स एशोसिएशनले यो साल भदौ ३ गतेदेखी राजधानी काठमाडौँमा अटो शो आयोजना गर्दै छ ।

यसै वर्षदेखि नाडाले आफ्नो फ्ल्यागशिस समारोहमा प्रतिस्पर्धाको सामना गर्नु परेको छ । तर प्रतिस्पर्धाले स्पर्धालाई आझै मजबूत बनाउँछ , यही तयारीमा छ नाडा । अटो शोको नयाँ संस्करण र यसको तयारी तथा बजार परिवेशहरुमाथि रहेर अर्थपथले एशोसिएशन अध्यक्ष करण चौधरीसँग गरेको कुराकानीको अंश यहाँ प्रस्तुत छ ।

करण चौधरी
अध्यक्ष, नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपाल

तपाईंको कार्यकालमै नाडा फुट्यो, यसको दोष कसले लिने ?

नाडा फुटेको होइन । हाम्रा सदस्यहरु नाडा छोडेर कतै जानु भएको छैन । बरु यसलाई नयाँ संस्था बन्यो भन्नु राम्रो हो । नयाँ संस्थाहरु खुल्नु भनेको सम्वन्धित क्षेत्रको आवाजहरु बढ्नु हो । तर, नाइमा र नाडाले मागेका विषयहरुमा फरक छन् ।

नाडाको नेतृत्वमा म आउनुभन्दा अघि अटो क्षेत्रको आवाज सरकार र सम्बद्ध क्षेत्रका सामु राम्रोसँग पुग्न सकेको थिएन् । म आइसकेपछि नै अटो क्षेत्रका आवाजलाई अझै सशक्त रुपमा कसरी अगाडि बढाउन सकिन्छ भनेर लागि रहेका छौं ।
नयाँ संस्थाहरु खुल्नु भनेको यस क्षेत्रको आवाज अझ बुलन्द हुनु हो । अटो क्षेत्रको आवाज सशक्त बनाउन र यस क्षेत्रको पहुँच फराकिलो पार्नमा नयाँ संस्थाहरुले थप भूमिका खेल्न सक्छन् ।

नाडा एउटा छाता संगठन हो र त्यही रूपमा अगाडि बढिरहेको छ । हाम्रो उद्देश्य नेपालमा अटो व्यवसायको हित हो ।
नाडाको कार्यकाल सकिएपछि तपाई पनि नाइमाको सदस्य बनेर सक्रिय हुने हल्ला पनि छ नि बजारमा ?

त्यो मान्छेहरूको भ्रम हो । त्यो भ्रम र मान्छेले भन्ने चिज उहाँहरूमा नै सीमित राख्छु ।

बजारमा नाइमाले त आफूहरुलाई अटोमोबाइलको ‘वास्तविक आयातकर्ता’को रुपमा चिनाइरहेको छ । नाडा भनेको त ‘टायर बेच्ने, साइकलको बेच्ने संस्था हो’ भन्छन् नि, के भन्नु हुन्छ ?
नाडाका पूर्व अध्यक्षहरूले नै त्यसरी सोच्न सक्छन् अथवा नाडाकै मेम्बरले त्यसरी सोच्न सक्छन् भने म मान्छु । तर, केही व्यक्तिहरूले सोच्नुहुन्छ होला, आम जनमानसमा त्यस्तो सोचको दोष दिन्नँ म ।

आगामी दिनमा गाडी विक्रेता र पार्टपूर्जा विक्रेताको छुट्टाछुट्टै संस्था बनाए जान सकिन्छ ?

नाडा नेपालका अटो व्यवसायीहरूको छाता संगठन भनेर अगाडि बढीरहेको छ । यसलाई किन खुम्च्याउँदै जाने त ? त्यसलाई खुम्च्याउनु पर्ने जरुरत त कहीँ पनि देख्दिनँ म । झन् फराकिलो बनाउने हाम्रो जहिले पनि प्रयास छ र त्यसै किसिमको सोच हुन्छ ।

दुईवटा संस्थाले एकै समयमा अटो शो गर्दै हुनुहुन्छ । ब्रान्ड पनि तानातान छ । अब कसले कतिवटा ब्रान्ड राख्ने भन्ने पनि होडबाजी जस्तो छ । अनि ग्राहक र नीति निर्माण तहमा रहनेहरुका लागि व्यवसायीहरू एकजुट नभएको सन्देश जाने भयो नि हैन ?

यहाँहरूले नै गत वर्षको नाडा अटो सो आउँदा ‘ठाउँ पुगेन, ठाउँ पुगेन, सानो भयो, सब कचाकच भयो’ भन्नु भएको थियो । आज दुई वटा थलो दिइरहेका छौँ, जहाँ मान्छे सहज रुपमा अवलोकन गर्न सकोस् ।

अनि अर्को, नाइमामा गएर गाडी हेर्ने, त्यसपछि डिसिजन भने नाडामा आएर गर्ने ठूलो अवसरमा पनि दिएका छौं नि । हामीले त झन् उपभोक्तालाई ‘सोचेर निर्णय गर्ने’ मौका दिइरहेका छौँ । यसमा त के समस्या भयो ?

आजभोलि अटो व्यवसायी र ग्राहकहरू धेरै नै सचेत छन् । हामीले गर्ने प्रदर्शनी नभएको खण्डमा पनि उनीहरुलाई समस्या हुँदैन । विभिन्न १० वटा शोरूम भिजिट गरेर कहाँबाट राम्रो पाउँछन्, पाउँदैन भन्ने छुट्याउन सक्छन् ।
झन् लगातार दुईटा अटो शो आयोजना हुँदा ग्राहकहरूलाई त सुनमा सुगन्ध हो । किनभने नाइमामा जे आयो, त्यससँग प्रतिस्पर्धा गर्नका लागि नाडामा त त्योभन्दा बढी आउँछ । त्यो बढी आउँदाखेरि त सबैभन्दा लाभ मिल्ने ग्राहकलाई नै हो।

सरकारसँग नीतिगत समन्वयको लागि नाडाको प्राथमिक एजेन्डाहरू के–के हुन् ?

नाडाले चरणबद्ध रूपमा आफ्ना मागहरू राख्दै आएको छ । यस वर्षको बजेटले त हामीलाई अनुभूति हुने गरी मागहरु समेटिदिएको छ ।

हामी त्यही आशाका साथ मौद्रिक नीतिमा पनि सुझाव पेश गरेकै थियौं । यद्यपि, मौद्रिक नीतिले ती सुझावहरु समेट्न सकेन । त्यसले हामीलाई निरुत्साहित बनाएको छ । तर, हामीले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर लगायत सबैलाई भेटेर झकझकाउँदै आएका छौं ।

नेपालमा नीतिगत रूपमा नाडाले जहिले पनि आफ्नो पहल लिएकै छ । त्यो युरो फोरको कुरा होस्, या प्रदूषण मापदण्डको कुरा होस् या आयातसम्बन्धी निर्देशिका र मापदण्डको होस्। नाडाले आफ्नो पहल कदमी स्पष्ट रूपमा अगाडि बढिरहेको छ, सधैँ बढिरहन्छ ।

बजेटमा नाडाका मागहरू के–के सम्बोधन भए ?

हामी धेरै सुझावहरु पेश गरेका थियौं । बजेट मार्फत सरकारले ‘नयाँ प्रदर्शनी केन्द्र स्थापना’ गर्ने भनेको छ । सबैभन्दा ठूलो माग सम्बोधन भएको छ । हामीलाई यो भन्दा राम्रो अरु के हुन सक्छ ?

मौद्रिक नीतिमा चाहिँ तपाईँहरूका एजेन्डाहरू के–के थिए ?

हाम्रो एजेन्डा एकदम सामान्य र स्वाभाविक थिए । मौद्रिक नीतिमा भावपूर्ण रूपमा व्यवसायीहरूलाई काम गर्न दिनुपर्छ । व्यवसायीहरूलाई बाँधेर राख्नुहुन्न भन्ने भाव हो । लोन टु भ्याल्युको कुरा गर्नुहोस्, बिजनेस सहजताको कुरा गर्नुहोस्। जसरी हुनसक्छ व्यवसायीलाई बिजनेस गर्न दिनुपर्छ भन्ने भाव हो ।

त्यो बाहेक अरु त नीतिगत रुपहरुमा व्यवसायीलाई काम गर्न दिनुपर्यो भन्ने हो । व्यवसायीलाई नियमन त गर्ने, तर त्यो घाँटी न्याक्ने गरी नियमन हुनुभएन । राम्ररी काम गर्ने वातावरण हुनुपर्यो, त्यही नै हो ।

अब उहाँहरूले गाडी कसरी बेच्न पाउनुपर्छ भन्ने मात्रै तपाईंहरूको कन्सर्न हो कि, यसको पूर्वाधार विकासमा पनि केही छ ?
नाडाले जहिले पनि पूर्वाधारको कुरामा आफ्नो आवाज अगाडि बढाउँदै आएको छ। हामीले सधैं भन्ने गर्यौं, पूर्वाधार भन्ने कुरा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।

अटो व्यवसायीहरुसँग, अटो ग्राहकहरुसँग सरकारले यतिधेरै राजस्व उठाउँछ, त्यो चिजको फल कहीँ न कहीँ महसुस गर्नुपर्छ । त्यसको लागि नै अगाडि बढाउनुपर्छ र त्यो चिजको लागि कसरी हुन सक्छ, पूर्वाधार निर्माणमा सरकारको पनि ठूलो दायित्व छ ।

अहिले इभिको मात्रा जसरी बढीराखेको छ, यसको विकासको लागि बजेट र कर नीतिको बारे तपाईंको धारणा के हो ?

स्थिर नीति हुनु नै एउटा व्यवसायको ठूलो लक्ष्य हो । यो पालि स्थिर नीति भएको हामीले आभास गरेको छौं । अर्को वर्ष पनि यस्तै भइराख्यो भने सरकारको जुन ताल छ, त्यसमा व्यवसायीहरु नाच्नमा कतै पनि रोकिँदैन ।

हामी अगाडि नै बढ्ने हो, यो चिजलाई व्यवसायीहरुले आफ्नो ग्राहकलाई आफूसँग आवद्ध गराउनको लागि विभिन्न चरणमा उहाँहरुको पूर्वाधार विकास गर्नको लागि नै धेरै चिज गर्छन् ।

तर, नेपालमा कस्तो हुन्छ भने, पूर्वाधार विकास गर्ने सोच नबनाउँदैमा करको नीति बदलिन्छ । त्यसो हुनु भएन । मेरो सरकारहरुलाई एकमात्र आग्रह नै नीतिगत स्थायित्व हो ।

हाल सरकारले यातायात नीति बनाइरहेको छ । यसमा नाडाको धारणा के हो ?

नाडाको धारणा समग्र रुपमा बुझाउने छौं । यातायात विभागले पनि हामीसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको छ । हाम्रा सुझाव, सल्लाहलाई सुनेर अघि बढ्ने विभागको आश्वासन छ, यही नै हाम्रा लागि ठूलो गर्वको कुरा हो ।

नीतिबारे नाडाले बूँदागत रुपमा १–२ वटा विषय मात्र होइन, अरु धेरै विषयमा आफ्ना सल्लाह सुझाव बुझाउने छौं । लामो दस्तावेज छ, त्यसमा केही परिमार्जन गरेर आफ्नो सल्लाह सुझाव बुझाउने नै छ । अरु ठूलो बहस पनि हुने छ ।

तपाईले यातायात नीतिको ड्राफ्ट पुरै हेर्नुभयो ? नीतिमा अब एउटै मात्र डिलर हुनुपर्ने लगायतका धेरै कुराहरु छन्, त्यसमा नाडाको समर्थन होला नि ?

बूँदागत रुपमा कुन बुँदामा नाडाले कसरी त्यसलाई लिएको छ भन्ने कुरा हामीले प्रष्ट रुपमा राख्नेवाला छौं। हरेक बूँदामा हामीले सुझाव दिने नै छौं ।

इभीेको बजार ब्यापक विस्तार भइरहेको सन्दर्भमा केही वर्षपछि ब्याट्रीको विर्सजनको लागि तपाइँहरुसँग दीर्घकालीन रणनीति के छ ?

यो विषयलाई नाडाले विभिन्न चरणका गोष्ठी, समारोहहरुमा उठाउँदै आएको छ । यो नाडाले गर्नुभन्दा पनि नाडाका सदस्यहरु मित्रहरुले गर्ने हो । यद्यपि, नाडाले धेरै पहल गर्ने नै छ र गरिरहेको छ ।

अटो शोको पनि तयारीे छ । सकेसम्म धेरै ब्रान्डहरु नाडामा आइदियोस्, धेरै ठूलो शो गर्न सकियोस्, भन्ने त यहाँको ध्येय रहन्छ नै । रणनीति केछ, कसरी लाग्नु भएको छ ?

नाडा अटो शोका लागि स्टलहरु भरिभराउ भइसकेका छन् । अब हामी नयाँ स्टल दिने स्थितिमा छैनौं । यति बेला हाम्रा ग्राहकवर्ग र प्रदर्शनीमा आबद्ध हुने एक्ज्युक्युटर्सहरुलाई के दिन सकिन्छ भन्ने विषयमा नै अगाडि बढेका छौं । त्यो चिज आउँदै जान्छ । यस पल्टको नाडा अटो शो इन्टरनेशनल कुनै अटो शोसँग कम्पिट गर्ने लेबलको अटो शो हुन्छ ।

हामी त्यसकै व्यापाक तयारीमा छौं । अवश्य पनि यस वर्ष नयाँ, फरक अनुभूति पाउन सकिनेछ । सम्पूर्ण नेपाली जनमानसलाई समेट्ने गरी अटो शो गर्दैछौं । ग्राहकको इच्छा, आकांक्षा, अपेक्षालाई समेट्ने खालको बनाउँछौँ । अटो शोमा आउने हरेकका लागि केही न केही हुन्छ ।

हामी नाडा अटो शोमा कसरी उत्साह ल्याउन सकिन्न भन्नेमै केन्द्रित छौं । त्यसका लागि धेरै प्रयास भएको छ । त्यो चिज अहिले मैले भन्न मात्र सकिरहेको छैन । तर, विगतको भन्दा पृथक हुन्छ, यहाँहरुले आभास गर्नुहुनेछ ।

आजसम्मको इतिहासमै । त्योभन्दा माथि अब के भन्ने, प्रश्न आउँछ ? त्योभन्दा बढी के गर्न सकिन्छ भने कसैले सोधेर मलाई जवाफ दियो भने ढुक्क हुन्छु म त ।