प्रधानमन्त्री ओलीद्वारा ‘नाडा अटो शो–२०२५’ को भव्य उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७औं ‘नाडा अटो शो–२०२५’ को औपचारिक उद्घाटन गरेका छन् ।
‘गो फर मोर’ नारासहित सुरु भएको यस अटो शोले नयाँ प्रविधि, दिगो मोबिलिटी र स्मार्ट भविष्यको झल्को दिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा १९ वटा चारपांग्रे ब्रान्ड, १३ हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ दुईपांग्रे सवारी ब्रान्ड, साथै ३५ कम्पनी द्वारा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण र वित्तीय सेवाहरू प्रस्तुत गरिएका छन् ।
१०० भन्दा बढी प्रदर्शकको सहभागिता रहेको शोमा १ लाखभन्दा बढी दर्शकको आगमन हुने अपेक्षा गरिएको छ ।
युनिट्री रोबोट्सको अत्याधुनिक चारपांग्रे रोबोट, डिपलको ईभीटोल ग्ब्ख् (उड्ने सवारी), भिन्टेज मोटर शो अन्तर्गत मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता पुराना सवारीहरू प्रदर्शनमा छन्।
‘मेड इन नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै निर्मित सवारीसाधन र अटो पाट्र्स प्रदर्शित गरिएका छन् ।
साथै, ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तक्र्रिया कार्यक्रमहरू पनि शोको आकर्षणका रूपमा राखिएका छन् ।












