नाडा अटो शो: नयाँ गाडी किन्न बैंकहरूको कर्जामा प्रतिस्पर्धा, कुनले कति ब्याजमा दिन्छन् कर्जा ?
काठमाडौं । सवारी साधनको भव्य प्रदर्शन हुने वार्षिक मेला ‘नाडा अटो शो–२०२५’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
फरक–फरक ब्रान्डका कार, बाइक र विद्युतीय सवारी साधनको ठुलो भीड छ । यस्तो भिडमा हिँड्दा चम्किला र आकर्षक सवारी उत्तिकै मात्रामा ग्राहक झुम्मिएका छन् ।
अटो शोमा सवारी साधनले मात्र होइन, ग्राहकको ध्यान तानेको अर्को चीज हो, बैंकहरूले ल्याएका सस्तो कर्जाका अफरहरू । यस वर्षको अटो शोमा आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले सवारीसाधन किन्न चाहने ग्राहकका लागि इतिहासमै सस्तो ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेका छन् ।
बजारमा बढ्दो प्रतिस्पर्धाका बीच बैंकहरुले यस पटक भने फाइदा भन्दा पनि ग्राहक लोभ्याउने रणनीति अघि सारेका छन् । बैंकहरूले कसले कति सस्तोमा दिने भन्ने आ–आफ्नो अफरमा प्रतिस्पर्धा गरिरहेको देखिन्छ । सस्तो ब्याजमा अटो लोन दिन बैंकहरू प्रतिस्पर्धामा उत्रिएका छन् । ग्राहकहरूको नजरमा सस्तो ब्याजदर अफरहरु आकर्षक देखिएका छन् ।
प्राय: गाडीको मोडल हेर्नु अघि नै ब्याजदरको तुलनामा ध्यान दिइरहेका छन् । बैंकहरूले पनि आफ्ना स्टलहरूमा कर्जा सम्बन्धी विशेष परामर्श टिम राखेका छन् । बैंकका प्रतिनिधिहरुले ग्राहकलाई सहज रूपमा कर्जा प्रक्रियाको जानकारी दिइरहेका छन् ।
‘नाडा अटो शो’ प्राय: नयाँ मोडल, प्रविधि र नविनतम सवारीका कारण चर्चित हुन्छ । तर, यसपालिको विशेषता भने ‘सस्तो ब्याजदरको दौड’ पनि बनेको छ । जसले ग्राहकहरूलाई सोचेजस्तो गाडी लिन अझ नजिक पुर्याइरहेको छ ।
कुन बैंकले कति प्रतिशत ब्याजमा दिन्छन् सवारी कर्जा ?
अटो शोमा कृषि विकास बैंकले सबैभन्दा लोभलाग्दो अफर ल्याएको छ । बैंकले केवल ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ ।
नबिल बैंकले न्यूनतम ६.७४ प्रतिशत, ग्लोबल आइएमईले ६.९९ प्रतिशत, नेपाल एसबीआईले पनि यही दरमा कर्जा दिने योजना अघि सारेका छन् । यता, ग्लोबलले पाँच वर्षे स्थिर योजना पनि ल्याएको छ, जसअन्तर्गत ८.२५ प्रतिशतको निश्चित ब्याजदर कायम रहने बैंकले जनाएको छ ।
हिमालयन बैंकले आफ्नो कर्जा दर बैंकको आधार ब्याजदरमा आधारित राखेको छ । यो हालको आधार दरमा करिब ७.५७ प्रतिशत पर्छ । यसबाहेक, कर्जाको अवधि पनि अधिकतम आठ वर्षसम्म रहने सुविधा दिएको बैंकले जनाएको छ ।
एनएमबी बैंकले विद्युतीय सवारी साधनका लागि ७.१३ प्रतिशत ब्याजदर राखेको छ भने पाँच वर्षे स्थिर कर्जामा ८.८९ प्रतिशत ब्याजदर लागू हुने जनाएको छ ।
त्यस्तै, सानिमा बैंकले विद्युतीय गाडीका लागि ७.४९ प्रतिशत स्थिर दरमा कर्जा दिने गरि योजना अघि सारेको छ ।
त्यसैगरि लक्ष्मी सनराइज बैंकले भने सात वर्षे अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा योजना अघि सारेको छ ।













