अनुदानमा पनि निराशा, ऋण पनि लक्ष्यभन्दा तल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अनुदानमा पनि निराशा, ऋण पनि लक्ष्यभन्दा तल



काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक सहायता धेरै ल्याउने योजना बनाएको थियो ।

तर, वर्षको अन्त्यसम्ममा त्यो योजना जति सोचिएको थियो, त्यति सफल हुन सकेन । अनुदान र ऋण दुवैमा लक्ष्यको आधा भन्दा कम मात्र सहायता प्राप्त भएको छ ।

अर्थमन्त्रालयले हालै उपलब्ध गराएको एक तथ्याङ्कले यस्तो देखाएको हो ।

सरकारी संयन्त्रमा ढिलाइ, कामको गति सुस्त र वैदेशिक साझेदारसँगको समन्वय कमजोर भएको कारण सहायता प्राप्तिमा कमी आएको देखिन्छ । सरकारले अब परियोजनाको कार्यान्वयन सुधार्न र दातृ निकायसँग प्रभावकारी समन्वय गर्नुपर्ने आवश्यक छ ।

सरकारले ५२ अर्ब ३३ करोड रुपैयाँ बराबरको अनुदान लिने लक्ष्य राखेको थियो। तर वर्षभरिमा जम्मा २३ अर्ब ५३ करोड रुपैयाँ मात्र प्राप्त भयो। यो लक्ष्यको करिब ४५ प्रतिशत मात्रै हो। अघिल्लो वर्ष पनि २४ अर्ब मात्रै अनुदान प्राप्त भएको थियो। यो वर्ष त्योभन्दा झन्डै २ प्रतिशत कम हो ।

यस्तै, वैदेशिक ऋणतर्फ पनि प्राप्त रकम घटेको छ । २ खर्ब १७ अर्ब ऋण लिने लक्ष्यमा सरकारले १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ मात्र ऋण लिन सक्यो। यो कुल लक्ष्यको करिब ५७ प्रतिशत हो । अघिल्लो वर्ष पनि करिब यत्तिकै रकम ऋण लिइएको थियो । तर त्योभन्दा पनि थोरै प्राप्त भएको देखिन्छ ।

कुल वैदेशिक सहायता (अनुदान र ऋण) जोड्दा सरकारको लक्ष्य २ खर्ब ६९ अर्ब रुपैयाँ थियो। तर प्राप्त रकम १ खर्ब ४८ अर्ब रुपैयाँमै सीमित रहेको छ । जुन कुल लक्ष्यको ५५ प्रतिशत मात्रै हो ।


प्रतिक्रिया दिनुहोस्