आर्थिक वर्षको सुरुवातमै दोब्बर बढ्यो निर्यात, आयात बढ्दा राजश्वमा पनि सुधार
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै वृद्धि भएको हो ।
विभागले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा आयात ११.४२ प्रतिशत वृद्धि भएको छ । सो महिनामा कुल १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । जबकि, गत आवको सोही महिनामा १ खर्ब २८ अर्ब ३७करोड ७१ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।
यता, निर्यात पनि ९५.७५ प्रतिशत बढेको देखिन्छ । गत वर्षको साउनमा नेपालले कुल १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । तर, चालु आवको सोही महिनामा भने २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।
एकै महिना नेपालले कुल १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो गत आवको तुलनामा भने २.५५ प्रतिशत हो । जबकि, गत आवको साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
साउनमा आयात भन्दा निर्यात रकम एकदमै न्युन छ, जसका कारण वैदेशिक व्यापारमा नेपाल एकै महिना १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
आयातमा आएको बढोत्तरीले राजश्वमा पनि वृद्धि भएको छ । गत वर्षको साउनको तुलनामा राजश्व थप ६.१ प्रतिशत अर्थात् २ अर्ब ११ करोड ६२ लाख रुपैयाँ बढेको छ ।
गत साउनमा भएका आयातबाट सरकारले ३६ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । जबकि, अघिल्लो साउनमा यस्तो राजश्व ३४ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।













