देशभर धान रोपाइँ सकियो, तर अनुमानभन्दा ७० हजार हेक्टर कम क्षेत्रफल
काठमाडौं । वर्षा र मौसमका अनिश्चितताले यो वर्ष पनि कृषि क्षेत्रमा धेरै चुनौतीहरू थिए । तर, नेपाली किसानहरूले आफ्नो लगनशीलता र परिश्रमका कारण देशभर ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ गर्न सफल भएका छन् ।
यो वर्ष देशभर १३ लाख ६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यो वर्ष देशभर कुल १३ लाख ७६ हजार ४६६ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरेको थियो । तर, वास्तविकतामा करिब ७० हजार हेक्टर कम क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । विभाग अनुसार यो वर्ष देशभर कुल ९४.९ प्रतिशत रोपाइँ पूरा भएको हो ।
मधेस प्रदेशमा सुख्खा संकटका कारण रोपाइँ अपेक्षाभन्दा कम ८६ प्रतिशत मात्र पूरा भएको छ । मधेशमा यो वर्ष तीन लाख १९ हजार ६२६ हेक्टरमा रोपाइँ हुने अनुमान थिया । तर, करिब ५० हजार हेक्टर कम क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।
कोशी प्रदेशमा अनुमानित दुई लाख ७६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भनिए पनि करिब ८ हजार हेक्टरले कमी देखिन्छ । कर्णाली प्रदेशमा पनि अनुमानित ४१ हजार हेक्टरभन्दा एक हजार कम क्षेत्रफलमा रोपाइँ भएको छ भने सुदूरपश्चिम प्रदेशमा अनुमानभन्दा ६ हजार हेक्टर कम रोपाइँ भएको तथ्यांक छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा पनि थोरै मात्रामा रोपाइँ घटेको छ । बागमतीमा अनुमानित एक लाख १५ हजार हेक्टरको साटो करिब ११२ हजार हेक्टरमा, गण्डकीमा ९४ हजारको अनुमान भएकोमा ९१ हजारमा र लुम्बिनीमा तीन लाख २ हजारको साटो करिब तीन लाख ९८ हजार हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।













