आर्थिक वर्षको सुरुवातमै सार्वजनिक ऋणको भार, एकै महिनामा थपियो १४ अर्ब बढी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आर्थिक वर्षको सुरुवातमै सार्वजनिक ऋणको भार, एकै महिनामा थपियो १४ अर्ब बढी



काठमाडाैं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै १४ अर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको साउन मसान्तसम्मको विवरण अनुसार, आर्थिक वर्षको सुरुवातमा सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ थियो। साउन मसान्तसम्ममा यो ऋण १४ अर्ब २ करोडले बढेर कुल २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

यो रकम हालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत बराबर हुने कार्यालयले जनाएको छ। सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत छ भने आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ।

सरकारले चालू वर्षका लागि कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ। उक्त लक्ष्यअनुसार, साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण संकलन भइसकेको छ, जुन वार्षिक लक्ष्यको ७.४८ प्रतिशत हो।

त्यस्तै, चालू आर्थिक वर्षमा सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। त्यसमा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेटको ८.९३ प्रतिशत बराबर हो।


प्रतिक्रिया दिनुहोस्