मुक्तिनाथ क्यापिटलको कृषि बजार कार्यशाला - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुक्तिनाथ क्यापिटलको कृषि बजार कार्यशाला



काठमाडौं |। मुक्तिनाथ कृषि कम्पनीले खाद्यान्नजस्तो मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा सार्वजनिक-निजी साझेदारीमा, आधुनिक थोक कृषि बजार स्थापना एवं सञ्चालनको औचित्य, आवश्यकता र लगानी प्रवद्र्धनका लागि कार्यशाला आयोजना गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहकार्य, उद्योग वाणिज्य महासंघको सहआयोजना र डीएफसीडी-एसएनभी परियोजनाको सहयोगमा लाजिम्पाटमा कार्यशाला आयोजना गरिएको कम्पनीले बताएको हो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकालले किसान उत्पादनको ‘बाइब्याक ग्यारेन्टी’ गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय स्तरको थोक बजार आवश्यक रहेको धारणा व्यक्त गरे ।

उक्त अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाः चुनौती र अवसर विषयमा विज्ञ प्रस्तुतीकरण र आधुनिक थोक कृषि बजार स्थापना एवं सञ्चालनको नीतिगत विषय तथा हालसम्मका अनुभव सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विभाग, राष्ट्र बैंक र कृषि उद्यम केन्द्र सम्मिलित प्यानल छलफल भएको थियो ।

कृषिमन्त्री रामनाथ अधिकारीले साना किसानको जीवनस्तर उकास्न एवं ठूला किसानलाई सेवा दिन निजी क्षेत्र लाग्नुपर्ने बताए । उनले मुक्तिनाथले सुरु गरेको अभियानमा मन्त्रालयको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषद्मा लैजाने अन्तिम तयारीमा रहेको र ऐन कार्यान्वयन भएपछि उत्पादन, प्रशोधन र बजार व्यवस्थापनसम्बन्धी धेरै विषयहरु समाधान हुने जानकारी दिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कृषिसम्बन्धी प्रशोधन, बजारीकरण र अन्य ठूला योजना अगाडि बढाउन सुझाव दिए ।

त्यस्तै, उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका समस्या समाधानका लागि महासंघले विभिन्न पहल गरिरहेको र बजार व्यवस्थापनका लागि करार खेती ऐन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

आधुनिक थोक बजार स्थापना र सञ्चालन गर्न कम्पनीले भिडियोमार्फत सरकारले जग्गा व्यवस्थापन र कृषि बजारसम्बन्धी स्पष्ट कानुन जारी गरेर पुराना बजार सञ्चालक र नयाँ व्यवसायीलाई समेट्दै १० अर्ब पुँजी लगानी गर्न तयार रहेको सन्देश दिएको अध्यक्ष सीताराम काफ्लेले दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्