लय समात्दै नेपाली अटो बजार : कम्पनीहरुले बेचे ३५ अर्बको गाडी, कुनको कमाई कति ?
काठमाडौं । कोभिड महामारी, आर्थिक मन्दी र आयातमा लागेका कडाइपछि लामो समयसम्म थलिएको नेपाली अटो बजारले फेरि लय समात्न थालेको छ ।
पटक–पटकको अस्थिरता, बजार मागको गिरावट र अन्योलका बीच पनि अटोमोबाइल क्षेत्र विस्तारै सकरात्मक गतिको बाटोमा अघि बढ्दैछ । पछिल्ला केही महिनायता बजारमा देखिएको सुधार, उपभोक्ताको पुन: उत्साहजनक सहभागिता र नयाँ–नयाँ ब्रान्ड तथा मोडलको प्रवेशले अटो उद्योगमा पुन: उर्जा भरेको छ ।
विशेषत: स्वदेशमै उत्पादनमा ध्यान दिइने प्रवृत्ति, विद्युतीय सवारीको वृद्धिमान र प्रतिस्पर्धी बजार रणनीतिहरूले अटो उद्योगलाई नयाँ दिशा दिइरहेका छन् । नेपालमा विभिन्न ब्रान्डका सवारी साधान बिक्री गर्दै आएका ९ वटा कम्पनीहरुले उपलब्ध गराएको सन् २०२५ को ९ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
नेपालका प्रमुख सवारीसाधन आयात, बिक्री तथा एसेम्बलमा संलग्न कम्पनीहरूले सन् २०२५ को पहिलो ९ महिनामै ३४ अर्ब ८३ करोड १० लाख रुपैयाँको व्यापार गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो २९.४० प्रतिशत बढी हो । यसलाई अटो उद्योगका लागि उत्साहजनक सूचकको रुपमा हेरिएको छ । जबकि, गत वर्ष सन् २०२४ मा ती कम्पनीहरुले २६ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।
हालसालै सम्पन्न दुई ठुला अटो शोले पनि आगामी दिनमा अझै व्यापार बढाउने अपेक्षा गरिको छ ।
हालसम्म हामीलाई आइएमई मोटर्स, हंसराज हुलाचन्द्र एण्ड कम्पनी, हुलास अटो, ओम्नी मोर्टर्स, शशिला मोटर्स, एसटीसी अटो, स्याकर ट्रेडिङ, हिमाल मोटो नेपाल, बतास ट्रयाक्टर लगायतको कम्पनीको विवरण प्राप्त भएको छ । सोही विवरणका आधारमा हामीले यो समाचार तयार पारेका छौं ।
गोल्छा ग्रुपका दुई कम्पनीको व्यापारमा उछाल, ९ महिनामै साढे १७ अर्बको कारोबार
नेपालका पुराना औद्योगिक समूहहरूमध्ये अग्रणी गोल्छा ग्रुपअन्तर्गतका दुई प्रमुख कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १७ अर्ब ६८ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।
हंसराज हुलासचन्द एन्ड कम्पनी र हुलास अटो क्राफ्टले सवारीसाधनको बिक्री तथा एसेम्बलिङमार्फत उक्त परिमाणको कारोबार गरेका हुन् । यी दुवै कम्पनी बजाज ब्रान्डका दुई पांग्रे र तीन पांग्रे सवारीसाधनसँगै, केटीएम र ट्रायम्फजस्ता ब्रान्डको पनि आधिकारिक विक्रेता हुन् ।
सन् १९५९ मा स्थापना भएको हंसराज हुलासचन्द एन्ड कम्पनीले समीक्षा अवधिमा ११ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा भने ६५.७० प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले १० अर्ब ६७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यता, हुलास अटो क्राफ्टको कारोबार ८५ करोड नाघेको छ । कम्पनीले ९ महिनामै ६ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०१८ देखि नेपालमै सवारीसाधन एसेम्बल गर्दै आएको छ ।
रामग्रामस्थित एसेम्बलिङ प्लान्टमार्फत नेपालमै बजाज ब्रान्डका सवारीसाधन उत्पादन गर्दै आएका यी कम्पनीहरूले ३०० भन्दा बढी शाखामार्फत सेवा विस्तार गरेका छन् । स्वदेशमै उत्पादनलाई जोड दिँदै कारोबार बढाएको समूहको समग्र व्यापारमा ४० प्रतिशतको वार्षिक वृद्धिदर देखिएको छ ।
स्याकर ट्रेडिङको आठ महिनामै ९ अर्ब ३० करोडको व्यापार
जापानी ब्रान्ड होन्डाका दुई पांग्रे सवारीसाधनको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनीले पनि उल्लेख्य व्यापार गरेको छ ।
चालु आर्थिक वर्ष २०२४–२५ को ८ महिनामा मात्रै कम्पनीले ९ अर्ब २९ करोड रुपैयाँ बढीको व्यापार गरेको हो । कोरोना महामारीपछिको मन्दीलाई पार गर्दै कम्पनीको कारोबार पुन: उकालो लाग्न थालेको देखिन्छ ।
सन् २०२४ मा १० अर्ब ८४ करोड रुपैयाँको कारोबार गरेको थियो । तर, चालु आवको आठ महिनामै उल्लेखनीय गति लिन सफल भएको देखिन्छ ।
हिमाल मोटो नेपालको व्यापार ३ अर्ब नाघ्यो, होन्डा स्कुटर उत्पादनले उचाइ
हिमाल मोटो नेपालले पनि ११ महिनामा ३ अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । सन् २०२० मा स्थापना भएको यो कम्पनीले रुपन्देहीमा होन्डा ब्रान्डको स्कुटर एसेम्बल गर्दै आएको छ ।
गत वर्ष सन् २०२४ मा हिमाल मोटोले ३९ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले स्कुटरका मुख्य पार्टहरू आयात गरी नेपालमै उत्पादन सुरु गरेको छ र सन् २०२४ को अप्रिलदेखि व्यवासायिक रूपमा संचालन गर्दै आएको छ ।
स्याकर ट्रेडिङ कम्पनीको सहायक कम्पनी रहेको हिमाल मोटो ज्योति ग्रुपको स्वामित्वमा छ । शौरभ ज्योती र सुह्रिद ज्योतीले बराबर हिस्सा राखेका छन् । सन् २०२४ मा कम्पनीको व्यापारमा स्कुटरले करिब ६५ प्रतिशत योगदान दिएको विवरणमा उल्लेख छ ।
आइएमई मोटर्सको व्यापारको उकालो यात्रा, २ अर्ब २१ करोडको कारोबार
आईएमई मोटर्सले पनि ९ महिनामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
जबकि, गत वर्ष स्न २०२४ मा कम्पनीले २ अर्ब ३४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो वर्ष भने कम्पनीको व्यापार ३ अर्ब रुपैयाँ नाघ्ने अपेक्षा गरेको छ ।
उद्योगी चन्द्रप्रसाद ढकाल नेतृत्वमा रहेको आईएमई मोटर्सले विगत केही वर्षमा व्यापारमा उतारचढाव देखाएको भए पनि पछिल्लो समय पुन: स्थिर र गतिशील अवस्थामा आएको देखिन्छ । सन् २०२२ मा कम्पनीको कारोबार ३ अर्ब १४ करोड रुपैयाँ थियो भने २०२३ मा १ अर्ब ७५ करोड पुगेको थियो ।
कम्पनीले अशोक लेल्यान्डका सम्पूर्ण कमर्सियल सवारीसाधन र विभिन्न प्रकारका बस, ट्रक, टिपर लगायतका गाडीहरूको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अशोक लेल्यान्ड ब्रान्डका बस तथा इन्टरमेडियट कमर्सियल सवारी साधनको उच्च मागका कारण व्यापारमा वृद्धि हासिल गरेको जनाएको छ ।
आईएमई मोटर्सले आफ्नो यात्रा सन् २०१० मा एलटी इन्टरप्राइजेजको रूपमा सुरु गरेको थियो । सन् २०१७ देखि ‘आईएमई मोटर्स’को नामबाट संचालन भइरहेको छ ।
हेभी गाडी बेच्ने ओम्नी मोटर्सको व्यापार साढे ९ प्रतिशत बढ्यो
ओम्नी मोटर्सको व्यापार पनि ९.३६ प्रतिशत वृद्धि भएको देखिन्छ । कम्पनीले गत वर्ष सन् २०२४ को कुल ७२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, सन् २०२५ को ९ महिनामै भने ७९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
ओम्नी मोटर्स भारतबेन्ज ब्रान्डका हेभी कमर्सियल सवारी साधनको आधिकारिक विक्रेता हो । सन् २०२२ र २०२१ मा क्रमश: २ अर्ब २८ करोड र २ अर्ब १ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यसयता बजारमा मागको चक्र र आर्थिक सुस्तताले व्यापारमा तीव्र गिरावट आएको थियो ।
हाल ओम्नी ग्रुपद्वारा सञ्चालित यो कम्पनीको मुख्य कार्यालय वीरगञ्जमा छ । देशभर ११ वटा शोरुममार्फत सेवा दिँदै आएको छ । राजिन्द्र काब्राको अध्यक्षतामा सञ्चालन भइरहेको कम्पनीमा पाँच जना स्वामित्व साझेदार रहेका छन् ।
एसटीसी अटोको व्यापार साढे ७३ करोड
सिट ब्रान्डका टायरको नेपालका लागि आधिकारिक विक्रेता रहेको एसटीसी अटोले ८ महिनामै ७३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
जबकि, गत वर्ष मात्रै १ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले विगत केही वर्षमा वार्षिक रूपमा १ अर्बमाथिको कारोबार गर्दै आएको छ ।यो वर्षको अन्त्यसम्म पनि सोही लय कायम राख्ने अनुमान गरिएको छ ।
एसटीसी अटोले विशेषगरी दुई पाङ्ग्रे सवारी साधनका टायर बिक्री गर्दै आएको छ । सन् २०२५ को आठ महिनामा कम्पनीको कुल आम्दानीमा ३३ प्रतिशत योगदान दुई पाङ्ग्रे टायरबाट आएको जनाएको छ । यस्तै, ३२ प्रतिशत व्यवसायिक सवारी साधन सेग्मेन्टबाट र २९ प्रतिशत निजी सवारी साधन सेग्मेन्टबाट आएको जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र अध्यक्ष भोलेश्वर दुलालको संयुक्त स्वामित्वमा रहेको छ । एसटीसी अटोले देशभर ३ वटा शाखा र २५ भन्दा बढी डिलरमार्फत सेवा दिँदै आएको छ । टायर बजारमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको कम्पनीले आगामी महिनाहरूमा थप वृद्धि गर्ने लक्ष्य राखेको छ ।
९ महिनामै शशिला मोटर्सको व्यापार वृद्धिदर १९.६३ प्रतिशत
शशिला मोटर्स प्रालिको व्यापार वृद्धिदर पनि १९.६३ प्रतिशत छ । चालु आवको ९ महिनामा कम्पनीले ५१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
जबकि, गत वर्षभर भने ४३ करोड ३० लाख रुपैयाँ बराबरको सवारी बिक्री गरेको थियो । कम्पनीले विद्युतीय सवारी साधन बजारमा सक्रियता बढाएको देखिन्छ ।
सन् २०१४ मा स्थापना भएको कम्पनीले सन् २०२४ को फेब्रुअरीदेखि आयर, किटन, जेएमसी, चेरी र वान्डा ब्रान्डका विद्युतीय सवारी साधनको आधिकारिक बिक्री सुरु गरेको हो ।
कम्पनीले सन् २०२२ मा भने टाटा ब्रान्डका सवारी साधनमार्फत १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो ।
हाल कम्पनीको कुल आम्दानीमा हायर र किनोट ब्रान्डका व्यवसायिक सवारी साधनबाट क्रमश: ६५ र ३० प्रतिशत योगदान रहेको जनाएको छ । काठमाडौं र भक्तपुरमा टाटा ब्रान्डको व्यापार बन्द गरेपछि कम्पनीले विद्युतीय सवारी साधनमा केन्द्रित हुँदै आफ्नो मोडेल परिवर्तन गरेको हो । देशभर आफ्नै ५ वटा शोरुम र २ वटा प्रादेशिक शाखा रहेको छ ।
शशिला मोटर्समा सन्तोष खतिवडाको ४० प्रतिशत, आशिष पौडेल र एमएस कन्टिनेन्टल इन्भेस्टमेन्ट प्रालिको बराबर ३०–३० प्रतिशत स्वामित्व रहेको छ । कम्पनी विद्युतीय सवारी साधनसँगै किया, इसुजु र कोमट्सु ब्रान्डका गाडीहरूको पनि व्यापार गर्दै आइरहेको छ ।
बतास ट्र्याक्टरको व्यापारमा ४५.२४ प्रतितश ग्रोथ, बेच्यो झन्डै साढे ४४ करोडको गाडी
बतास ट्र्याक्टर प्रालिको व्यापारमा पनि ४५.२४ प्रतिशत ग्रोथ देखिएको छ ।
कम्पनीले ९ महिनामा ४४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । जबकि, गत वर्ष सन् २०२४ भर ३० करोड ५० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको बतास ट्र्याक्टर क्याटरपिलर निर्माण उपकरण, गोदरेज स्टोरेज समाधान र प्रोपेल ब्रान्डका सामग्रीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।
बतास अर्गनाइजेशनअन्तर्गत सञ्चालनमा रहेको कम्पनीमा आनन्दराज बतास र शान्तराज बतासको नेतृत्वमा ५ जनाको संयुक्त स्वामित्व छ । जसमा बतास परिवारको हिस्सेदारी ६७ प्रतिशत रहेको छ ।
व्यवसाय विस्तारका क्रममा कम्पनीले भोल्भो आइसरका कमर्शियल सवारी साधन, टीभीएसका दुई पांग्रे मोटरसाइकल तथा स्कुटर र मारुती सुजुकी र महिन्द्र ब्रान्डका सवारी साधनको पनि प्रादेशिक स्तरमा बिक्री गर्दै आइरहेको छ ।













