अलपत्र नेपालीहरूको उद्धार गर्न रिटर्नी संस्थाहरूको माग
काठमाडौं । रिटर्नी फेडेरेसन नेपाल, नेपाल रिटर्नी एसोसिएसन र रिटर्नी सेन्टर नेपालले जेन जी आन्दोलनका कारण विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीहरूको तुरुन्त उद्धार र व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद भट्टराई, नेपाल रिटर्नी एसोसिएसनका अध्यक्ष प्रविन पौडेल र रिटर्नी सेन्टर नेपालका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले आज संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न मुलुकबाट नेपाल फर्कन लागेका नेपालीहरू विमानस्थलमा अलपत्र परेको जानकारी प्राप्त भएकोले तत्काल उद्धार र व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
उनीहरूले ट्रान्जिट क्रममा बिरामी परेकाहरूका लागि नि:शुल्क उपचारको व्यवस्था गर्न पनि आग्रह गरेका छन् । आन्दोलनले वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष असर पुर्याएको भन्दै, वैदेशिक रोजगारीमा जाने तयारी गरेका युवाहरूको सहयोगका लागि तत्काल हेल्प डेस्क सञ्चालन गर्नुपर्ने संस्थाहरूको माग छ ।
विज्ञप्तिमा २०८२ भाद्र २३ गते जेन जी आन्दोलनका क्रममा भएका दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। आन्दोलनका क्रममा राष्ट्रिय, व्यक्तिगत तथा व्यवसायिक सम्पत्तिमा भएको क्षतिप्रति पनि दु:ख प्रकट गरिएको छ। युवाहरूमा अन्योल सिर्जना भएको भन्दै तत्काल सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
संस्थाहरूले जेन जीसँग हुने वार्ता राष्ट्रपति कार्यालयमै हुनुपर्ने र जंगी अड्डामा हुने वार्ता तथा सम्झौताहरू खारेज गर्नुपर्ने मागसमेत गरेका छन्। नयाँ बन्न लागेको अन्तरिम सरकार नेपालको संवैधानिक व्यवस्था अनुसार गठन हुनुपर्नेमा पनि जोड दिइएको छ । यसबाहेक संस्थाहरूले सामाजिक सञ्जालमा संयमता र धैर्य अपनाउन आम नेपालीलाई अनुरोध गरेका छन् ।















