निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन उद्योग परिसंघको आग्रह
काठमाडौं । निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह नेपाल उद्योग परिसंघ (सिएनआई) ले आग्रह गरेको छ ।
नयाँ पुस्ताले चाहेको आकांक्षालाई मूर्तरुप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भिर प्रयत्नशील बन्नुपर्ने परिसंघको बुझाई छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले युवा पुस्ताको चाहनालाई सफल बनाउन निजी क्षेत्रले आफ्नो तर्फबाट शसक्त रुपमा प्रयत्न गर्ने प्रतिबद्धता जनाएको छ ।
अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य हुने जनाएको छ ।
सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएका छौं । यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध छ ।’
आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएकोतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भिर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ ।
लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघ आग्रह गरेको छ ।
देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति परिसंघ गहिरो दु:ख व्यक्त गरेको छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
परिसंघले भन्यो,‘सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुननिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघ आग्रह गर्दछ ।’
कोभिड १९ र तत्पश्चात लिइएका नियामकीय प्रावधानका कारण करिब तीन वर्ष अर्थतन्त्रले निकै चुनोतीपूर्ण अवस्थाको सामना गर्नुपरेको थियो । हालको परिस्थितिमा सहज रुपमा उद्योग व्यवसाय संचालन हुन नसकेमा अर्थतन्त्रको चक्रमा नै असर परी समग्र अर्थतन्त्रको विकास एवं सरकारको राजश्व प्रभावित हुन सक्ने बताएको छ ।















