आन्दोलनको विध्वंशलाई भाइब्रेण्ट अर्थतन्त्रमा बदल्ने मौका
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत मंगलबार भएको विध्वंशले धेरैलाई अत्याएको छ । यस क्रममा अर्बौं होइन, खर्बौं मूल्य बराबरका संरचनाहरु ध्वस्त भएको अनुमान गरिएको छ ।
यसक्रममा साँच्चै कहाँकहाँ केके क्षति भयो र त्यसको मूल्यांकन केकति छ भन्नेबारे हालसम्म कुनै पनि औपचारिक जानकारी छैन । भावि अन्तरिम सरकारले यसको मूल्यांकन गर्नसक्छ र त्यसपछि मात्रै पुनःनिर्माणमा जुट्ने अवस्था बन्न सक्छ ।
यो विध्वंश हुनु हुँदैन थियो । तर अब यो सब भइसक्यो । यस अवस्थामा दोषिलाई खोजेर कारबाही गर्ने एउटा पाटो होला, त्योभन्दा महत्वपूर्ण चाहीँ विनाश भएका संरचनाहरुलाई पुनः खडा गर्नु हो ।
कालो बादलभित्र चाँदीको घेरा हुन्छ भनेजस्तै यो विध्वंशपछिको स्थितिमा अब नवनिर्माणको जग बसाल्नु आवस्यक हुन्छ ।
यसका लागि अन्तरिम सरकारले पुरक बजेट प्रस्तुत गर्नसक्छ । त्यसले विकास निर्माणका लागि छुट्याएको ठूलो हिस्सा कटौति गर्ने संभावना पनि छ । तर त्यो बजेटको खर्च गरेपछि अर्थतन्त्र भने चलायमान हुनसक्छ ।
लामो समयदेखि नेपालमा निर्माण क्षेत्रको गतिशिलता कमजोर भएको छ । यसले पुरै अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको छ । यस किसिमको खराब समयमा अर्थतन्त्रलाई गतिशील बनान अहिलेको विध्वंशको नवनिर्माण एक मौका सावित हुनसक्ने देखिएको छ ।
अहिले भएको क्षति हेर्दा सरकारले सार्वजनिक भवनहरुको पुनःनिर्माण तथा मर्मतमा ठूलो पैसा खर्च गर्नुपर्ने देखिन्छ । यसले निर्माण सामग्रीका साथै निर्माण क्षेत्रमा रोजगारी पनि बढाउने छ ।
सार्वजनिक तथा निजी भवनहरुमा भएको क्षतिका कारण अब निर्माण सामग्रीको विक्री चुलिने देखिएको छ । सबैभन्दा धेरै ब्यापार रङ्गको हुने संभावना छ । यसले पेन्ट्स कम्पनीहरुलाई फाइदा दिने छ ।
फर्निचर, काठ, पर्दा, कार्पेट तथा फ्लोरिङ्ग, टायल, पाइप, बिजुलीका सामान, सिसा, इलेक्ट्रोनिक्स, फलाम र सिमेन्टजस्ता निर्माण सामग्री, लत्ता कपडा, सवारीसाधन, कयौँ घरायसी वस्तु र उपभोग्य सामग्रीको विक्री पनि बढोत्तरी हुने छ ।
नजिकै दशैं आइसकेका कारण यस्तो खर्चको एक हिस्सा तुरुन्तै हुने संभावना छ । खासगरी निजी घर र व्यावसायिक प्रतिष्ठानहरुले तत्काल पुरानो हालतमा फर्किने कोसिस गर्ने छन् । सार्वजनिक सम्पत्तीमा पनि अब विस्तारै मर्मत र खरीदका कामहरु थालिने छ ।
यससँगै बजारलाई चलायमान बनाउन सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने र माहोल सकारात्मक बनाउने कोसिस गर्नुपर्छ ।
आन्दोलनका क्रममा आफ्ना सम्पत्तीमा क्षति पुगेका थुप्रै व्यवसायीले यो घटनाबाट नआत्तिने र अझ दर्बिलो भएर उभिने अभिव्यक्ति दिनुले पनि नेपाली अर्थतन्त्र भविष्यमा धेरै नबरालिने, बरु सही दिशामा उन्मुख हुनसक्ने संभावना देखिएको छ ।













