झापा इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सकिने
काठमाडाैं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आवेदन दिन आज अन्तिम मौका रहेको छ।
कम्पनीले सुरुमा भदौ २४ गते नै निष्कासन बन्द गर्ने घोषणा गरेको थियो, तर त्यस दिनको विषम परिस्थितिका कारण आवेदन अवधि एक दिन थप गरिएको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक चरणमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ। पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता शेयर स्थानीय बासिन्दाका लागि र ५७ हजार २९ कित्ता शेयर वैदेशिक श्रमिकहरूका लागि निष्कासन गरिएको थियो।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो। यस चरणमा सामूहिक लगानी कोषहरूलाई २८ हजार ५१४ कित्ता, कम्पनीका कर्मचारीहरूलाई ११ हजार ४०६ कित्ता छुट्याएर बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
प्रतिकित्ता मूल्य १०० रुपैयाँ कायम गरिएको छ, जसअनुसार कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको शेयर निष्कासन भएको हो।
आईपीओमा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।













