सागर डिष्टिलरीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सागर डिष्टिलरीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला



काठमाडाैं । सागर डिस्टिलरी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि अब आम लगानीकर्ताका लागि शेयर जारी गरिएको हो।

कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर (१४ करोड ५२ लाख रुपैयाँ बराबर) निष्काशन गर्न अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ।

त्यसैगरी, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।

अब बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ पर्छ, सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिएको हो। प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ।

उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २ गते तोकिएको छ। तर, तोकिएको म्यादभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज १३ गतेसम्म लम्बिन सक्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्