पुँजीबजारको सुधारका लागि अर्थमन्त्रीले गठन गरे ४ सदस्यी कार्यदल
काठमाडौं । पुँजीबजारकाे सुधारका लागि अर्थमन्त्री रामेश्वर खनालले ४ सदस्य रहेको कार्यदल गठन गरेका छन् ।
शुक्रबार अर्थमन्त्री खनालले पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्नेगरी कार्यदल गठन गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन भएकाे छ । कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्ययोजना पेश गर्नुपर्ने कार्यादेश रहेको मन्त्रालयले जनाएको छ ।
केसी संयोजक रहेको कार्यदलमा नेपाल राष्ट्र बैंकका बोर्ड सचिव समेत रहेका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । कार्यदलको सदस्यसचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला छन् ।













