इभिको माग बढ्दा एशियन ब्याट्रीको व्यापार २० प्रतिशत बढ्यो, एकै वर्ष ६२ करोडको कारोबार
इभिको माग बढ्दा एशियन ब्याट्रीको व्यापार २० प्रतिशत बढ्यो, एकै वर्ष ६२ करोडको कारोबार
काठमाडौं । विद्युतीय सवारी साधनको माग बढेसँगै ब्याट्री बजारमा चम्किएको एशियन ब्याट्री कम्पनीले उल्लेख्यनीय व्यापार सुधार गरेको छ ।
कम्पनीले एक वर्षको अवधिमा नै व्यापार २० प्रतिशत बढाएको छ । सन् २०१२ मा स्थापना भएको एशियन ब्याट्रीले सन् २०२५ को अन्त्यमा ६२ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा भने २०.११ प्रतिशत बढी हो । अघिल्लो वर्ष पनि कम्पनीले ५१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यस्तै, सन् २०२३ मा ४३ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले २०२१ देखि २०२५ सम्म वार्षिक औसत २९ प्रतिशतको दरले व्यापार विस्तार गरेको देखिन्छ ।
कम्पनीको व्यापार सन् २०२२ मा २२ करोड ५० लाख रुपैयाँमै सीमित थियो । तर, पछिल्लो पाँच वर्षको छोटो समयमै कम्पनीको कारोबार झन्डै तीन गुणा पुगेको छ ।
नाफाको ग्राफ पनि क्रमश: सुधारिँदै गएको छ । गत आवमा कम्पनीले ३.३९ प्रतिशत खुद नाफा कमाएको छ । जबकि, अघिल्लो वर्ष २.३२ प्रतिशत मात्रै नाफा कमाएको थियो ।
विराटनगरस्थित उद्योगले विद्युतीय सवारी साधन, अटोमोटिभ र ट्युबलर ब्याट्री उत्पादन गर्दै आएको छ । वार्षिक ५४ मेट्रिक टन उत्पादन क्षमतासहित कम्पनीले आवश्यक कच्चा पदार्थको करिब ७० प्रतिशत आन्तरिक बजारबाट आपूर्ति गर्दै उत्पादन लागत घटाउने रणनीति अपनाएको छ ।













