म्याट्रेसदेखि तकियासम्म : क्लासिक इन्डष्ट्रिजको व्यापार ३६ करोड नाघ्यो
म्याट्रेसदेखि तकियासम्म : क्लासिक इन्डष्ट्रिजको व्यापार ३६ करोड नाघ्यो
काठमाडौं । आरामदायी निद्रासँगै नेपाली उपभोक्ताको मन जित्दै आएको क्लासिक ब्रान्डले व्यापारमा क्रमिक सुधार गरेको छ । कम्पनीले एकै वर्ष साढे ६४ करोड बढीको व्यापार गरेको छ । कम्पनीको कारोबार स्थिर गतिमा अघि बढेको देखिन्छ ।
विशेषगरि ओछ्यानका सामग्री उत्पादन गर्ने क्लासिक इन्डष्ट्रिजले सन् २०२५ मा ३६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकि, अघिल्लो वर्ष सन् २०२४ मा पनि कम्पनीले ३६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीको कारोबार अघिल्ला वर्षहरूसँग उस्तै दरमा रहँदै आएको देखिन्छ । सन् २०२२ मा ४० करोड ९० लाख रुपैयाँको उच्च कारोबार गरेको थियो । त्यसपछि भने कारोबार केही घटेको छ । सन् २०२३ मा पनि कम्पनीले ३५ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा ३९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
सन् १९९० मा व्यापार सुरु गरेको हो । कम्पनीले २०१२ बाट औपचारिक रुपमा उद्योग दर्ता गरी क्लासिक ब्रान्डको नाममा उत्पादन र वितरण गर्दै आएको छ ।
कम्पनीले विशेषगरी म्याट्रेस, टुरिस्ट–क्लास होटलका ओछ्यान सामग्री, कोयर म्याट्रेस लगायतका उत्पादनबाट मुख्य आम्दानी गर्दै आएको छ । साथै, तकिया, कुसन, सिरक, तन्ना जस्ता सामग्री पनि क्लासिक ब्रान्डमै उपलब्ध छन् ।
सिमरामा उद्योग स्थापना गरेको क्लासिक इन्डष्ट्रिजको देशभर २४ वटा वितरक र करिब ५ हजार खुद्रा पसलमा बिक्री सञ्जाल रहेको छ । कम्पनीसँगै सञ्चालनमा रहेको क्लासिक ट्रेडिङ हाउस प्रालिले समेत वितरण विस्तारमा सहयोग पुर्याइरहेको छ ।
कर्जाको व्यवस्था पनि बलियो बनाउँदै आएको कम्पनीले ७२ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जाका लागि ५६ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १५ करोड ७० लाख रुपैयाँको रेटिङ गरिएको छ ।
भरतकुमार श्रेष्ठको निर्देशन र मन्दिरा भुजु श्रेष्ठको कार्यकारी नेतृत्वमा कम्पनीले गुणस्तरीय ओछ्यान सामग्रीमा क्लासिक ब्रान्डलाई नेपाली बजारको अग्रणी नाम बनाउने लक्ष्य राखेको छ । लगातारको स्थिर कारोबारले कम्पनीको ब्रान्ड मूल्य अझ बलियो भएको देखिन्छ ।













