११ श्रावण २०८३, सोमबार

जेनजी आन्दोलनका घाइते वर्गीकरण गर्न प्राविधिक समिति गठन, उपचारमा एक अर्ब खर्च अनुमान

जेनजी आन्दोलनका घाइते वर्गीकरण गर्न प्राविधिक समिति गठन, उपचारमा एक अर्ब खर्च अनुमान



काठमाडौं । जेनजी नेतृत्वको आन्दोलनमा घाइते भएका नागरिकहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा घाइतेहरुको वर्गीकरण्का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० सदस्यीय प्राविधिक समिति गठन गरेको हो ।

समितिको नेतृत्व मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले गर्नेछन् । मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयपछि गठन भएको समितिमा विशेषज्ञ चिकित्सकहरूदेखि मन्त्रालयका अधिकारीहरू सम्मको सहभागिता रहेको छ ।

समिति घाइतेहरूको गम्भीरता, सर्जरीको आवश्यकता र दीर्घकालीन फलोअपको आधारमा पहिलो, दोस्रो र तेस्रो श्रेणीमा वर्गीकरण गर्नेछ । प्रारम्भिक अनुमानअनुसार उपचारमा एक अर्ब रुपैयाँभन्दा बढी खर्च हुने देखिएको छ ।

हालसम्म २ हजार ३०६ जना घाइते भएका र ७६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अझै २४ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

घाइतेका लागि कृत्रिम अंग, फिजियोथेरापी र दीर्घकालीन फलोअप आवश्यक पर्न सक्ने भन्दै मन्त्रालयले उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने जनाएको छ । समितिमा विभिन्न सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकहरू छन् भने जेनजी पक्षबाट पनि एक जना प्रतिनिधि थपिनेछ ।