भटमास तेल व्यापार ‘बूम’, निर्यातमा देखिएको अस्वाभाविक वृद्धि, तर कति दिगो ?
काठमाडौं । नेपालको बैदेशीक व्यापारमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात हुने भटमास तेल आयात निर्यातको शिर्ष स्थानमा रहँदै आएको छ ।
गत आवको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भटमास तेल आयात करिब ४.६ गुणा र निर्यात करिब ३२ गुणा बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तिन महिनाको अवधिमा नेपालबाट ३० अर्ब २४ करोड ८७ लाख रूपैयाँ बराबरको क्रुड सोयावीन आयल अर्थात प्रशोधित भटमास तेल आयात भएको छ । यस्तै यस अवधिमा ३० अर्ब ६९ करोड ७८ लाख रूपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ ।
यस्तै गत आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा ५ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ बराबरको भटमास तेल आयात भएको थियो भने ९४ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको थियो ।
छिमेकी भारतमा भटमास तेलको माग उच्च भएका कारण यताबाट निर्यात ह्वात्तै बढेको देखिएको जानकारहरू बताउँछन् । तर, यस खालको अस्वाभाविक निर्यात दिगो नहुने उनीहरूको बुझाइ छ ।
भटमास तेल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ नेपालमा पर्याप्त मात्रामा उत्पादन नहुँदा व्यवसायीहरुले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, कतार जस्ता मुलुकबाट ठूलो परिमाणमा कच्चा भटमास तेल आयात गरेको विभागको तथ्यांक छ।
आयातित कच्चा तेललाई व्यवसायीले सामान्य प्रशोधन गरी तयारी तेलका रूपमा भारत निर्यात गर्दै आएका छन्। यसले गर्दा भटमास तेलको कच्चा पदार्थ र तयारी तेल आयातनिर्यात हुने वस्तुहरूको सूचीमा पहिलो नम्बरमा परेको हो।













