छठ : गौरीघाट पुगेर राष्ट्रपतिले दिए अर्घ्य, प्रधानमन्त्री कमलपोखरी जाने
काठमाडौँ । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर सूर्यलाई अर्घ्य दिएका छन् । कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइन्छ ।
छठमा बिहानै स्नान गरी दिनभर निर्जला व्रत बस्ने चलन छ । यस्ता व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । राष्ट्रपतिले भने सोमबार दिउँसो नै अर्घ्य दिएका छन् ।
छठमा सूर्यको आरधना गरिन्छ भने महामाया दुर्गाको छैटौँ र मूल स्वरुप मानिने कात्यायनीको आरधना गरिन्छ । रातभर जाग्राम वस्ने, मन्त्र जप्ने, कीर्तन गाउने गरेर भोलिपल्ट विहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो व्रत सकिन्छ ।
यसरी कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व गत शनिवारदेखि शुरू भएको हो । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ । दोस्रो दिन सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
षष्ठीका दिन निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना सहित अर्घ्य दिने गरिन्छ भने भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइन्छ ।
२०४६ सालदेखि सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिँदै आएको छ । बीचमा केही वर्ष बिदा हटाइए पनि पछि फेरि सुचारु गरिएको थियो । राज्यले यसरी सार्वजनिक विदा नै दिएर उत्सव मनाउन थालेपछि छठको सांस्कृतिक र भौगोलिक विस्तार पनि भएको छ । कुनै समय तराइको मिथिला क्षेत्रमामात्रै मनाइने यो पर्व अहिले राष्ट्रिय उत्सवको रुपमा विकास हुन थालेको छ ।
यही कारण राष्ट्रपति पौडेल पनि गुह्येश्वरी माताको प्राङ्गणमा पुगेर छठी माता र सूर्यदेवको आरधना गरेका हुन् । आजै साँझ प्रधानमन्त्री सुशिला कार्की पनि काठमाडौँको कमलपोखरीमा छठ मनाउने पुग्ने भएकी छिन् । आज विहानै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री समेतले विहानै शुभकामना दिँदै विभिन्न धार्मिक, सामाजिक र राजनीतिक सन्देश दिएका छन् ।












