१० श्रावण २०८३, आइतबार

खाद्य कम्पनीका सहुलियत पसल कात्तिकभर सञ्चालन हुने, कुन समानमा कति छुट ?

खाद्य कम्पनीका सहुलियत पसल कात्तिकभर सञ्चालन हुने, कुन समानमा कति छुट ?



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत मूल्यका पसललाई कात्तिकभर निरन्तर सञ्चालनमा राख्ने निर्णय गरेको छ । तर, साल्ट ट्रेडिङ कर्पोरेसनले भने आफ्ना सुपथ मूल्य पसल कात्तिक १० देखि नै बन्द गरेको छ ।

सरकारले सहुलियत पसलका लागि दिएको २ करोड रुपैयाँमध्ये करिब ६६ लाख रुपैयाँ बाँकी रहेकाले कात्तिक ३० सम्म पसल सञ्चालन गरिने खाद्य व्यवस्थाले जनाएको छ ।

पहिलो चरणमा कम्पनीले भदौ ३० देखि कात्तिक १० सम्म सहुलियत पसल सञ्चालन गरेको थियो । कम्पनीले उपत्यकासहित देशका ४५ जिल्लाका १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको छ ।

सहुलियत पसलमा चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ, तेल, गेडागुडी, मैदा, पिठो, चिउरा, चिनी र क्वाँटीमा प्रतिकेजी सात रुपैयाँ र कर्णालीका स्थानिय उत्पादन जस्तै फापर, चिनो, कागुनो आदिमा प्रतिकेजी १० रुपैयाँसम्म छुट दिइएको छ ।

यता, साल्ट ट्रेडिङ कर्पोरेसनले बागमतीसहित देशभरका ४२ स्थानमा सञ्चालन गरेका सुपथ मूल्य पसल कात्तिक १० देखि बन्द गरेको छ । कर्पोरेसनले काठमाडौं उपत्यकामा १४ स्थान र तीन मोबाइल भ्यानमार्फत बिक्री गर्दै आएको थियो । साल्ट ट्रेडिङले आफ्नो पसलमा चिनीमा प्रतिकेजी पाँच, नुनमा दुई र अन्य खाद्यवस्तुमा सात रुपैयाँसम्म छुट प्रदान गरेको थियो।