विदेशीको शिष्टाचारमै अर्थमन्त्रीलाई भ्याइनभ्याइ, भाड़ में जाए अर्थतन्त्र !
काठमाडौँ । नेपाली अर्थतन्त्र अहिले ‘भीरको टुप्पामा’ अड्केको जस्तो देखिन्छ । कतबेला गर्ल्यामगुर्लुम हुने हो, कसैलाई थाहा छैन ।
उद्योगधन्दा बन्द भएका छन् । रोजगारी खुम्चिँदै छ । आन्तरिक द्वन्द्वले पर्यटन व्यवसाय धरासायी भएको छ । ठूला होटेलहरु बन्द हुन थालेका छन् । लगानीकर्ताको मनोबल ऐतिहासिक स्तरमा तल झरेको देखिन्छ ।
समस्याका चाङ्ग अनेकौँ छन् । प्रशासनिक सुधार हुन सकेको छैन । ब्यापक रुपमा तल्लो तहमा जाने बजेट कटौति भएको छ । सवा खर्ब जति पूँजीगत बजेट नै कटौति गरिएको छ । मानिसको हातमा पैसा पुग्ने बाटो बन्द हुँदै छ । घरजग्गा कारोबार बन्दप्रय: छ ।
ब्यापक रुपमा लगानी गरेर अर्थतन्त्रलाई गतिशील बनाउने बेलामा ‘बोसो लागेको मान्छे’ झैँ प्रणालीमा पैसा थुप्रिएको छ । राष्ट्र बैंकका विदेशी मुद्रा थुप्रिएको छ । बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिएको छ । ऋण लैजानेहरुले तिरिरहेका छैनन् । जेनजी आन्दोलनपछि त बैंकका ऋणीहरु थोरै पनि पैसा तिर्न तयार देखिँदैनन् ।
केही निर्जीवन बीमा कम्पनीहरु वर्षौंसम्म घाटामा जाने अवस्था देखिन्छ । सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले ९–१० अर्बको क्षति व्यहोर्नुपर्ने अड्कलबाजी भएका छन् । यस्तो अवस्थामा कम्पनीले आफ्नो प्राथमिक पूँजी नै दाबी भुक्तानीमा प्रयोग गर्नुपर्ने अवस्था आउने देखिन्छ ।
सरकारले धमाधम पुराना तथा रुग्ण ठेक्काहरु तोडिरहेको छ । तर त्यो ठेक्का तोड्दाको वित्तीय लागत कति हुन्छ भन्ने अनुमान नै गर्न सकिएको छैन । बरु बहुसंख्यक निर्माण व्यवसायीहरु कालोसूचीमा पर्ने जोखिम बढेको छ । यसले भविष्यमा पनि निर्माण सामग्रीको बजार बढ्न नसक्ने परिस्थिति तयार हुँदै गएको छ ।
जताततै समस्याका चाङ्गले थिचेका बेला अर्थमन्त्री रामेश्वर खनाल भने विदेशी (खासगरी पश्चिमा शक्ति)हरुको शिष्टाचारमै व्यस्त देखिएका छन् । उनले मन्त्री भएको डेढ महिना पुग्दासम्म नेपालका उद्योगी, व्यवसायी र आर्थिक क्षेत्रका संघसंस्थाका पदाधिकारी, अर्थशास्त्री र अर्थतन्त्रका जानकारहरुसँग गहन छलफल गर्न चाहेका छैनन् ।
मुलुकको अर्थतन्त्र धर्मराउँदै दिनानुदिन झन् कमजोर बनेका बेला अर्थमन्त्रीले देशभित्र हौसला बढाउने प्रयार रत्तिभर नगरेको जानकार अर्थशास्त्रीहरु बताउँछन् । बरु भएको बजेट पनि खर्च नगरी अर्थतन्त्रलाई धरासायी बनाउने प्रबृत्तीलाई नै उनले मलजल गरिरहेका छन् ।
अर्थपथले उनी मन्त्री भएपछिका डेढ महिनामा कसकसलाई भेटेछन् भनेर अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले आर्थिक पत्रकारहरुलाई समेटेको एउटा ह्वाट्सएप ग्रुप नियाल्दा यस्तो देखिएको छ ।
अर्थमन्त्रीको यस्तो छ व्यस्तता
असोज ६ : अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिशन प्रमुख जहान सर्वातबीच भर्चुअल बैठक सम्पन्न भयो।

असोज ६ : अर्थमन्त्री खनाल र एशियाली विकास बैँकका कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट ।

असोज ६ : अर्थमन्त्री खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्सनबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न ।

असोज ७ : अर्थमन्त्री खनालसंग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरे ।

असोज ७ : नेपालका लागि जनगणतन्त्र चीनका राजदुत चेङ्ग सोङ्गले शिष्टाचार भेट गरे ।

असोज १० : अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक भयो। बैठकमा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधिहरु, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि सहभागि थिए ।

असोज १० : अर्थमन्त्री खनाल र नेपालका लागि यूरोपियन यूनियनका राजदूत भेरोनिक लोरेञ्जो, जर्मनीका राजदूत उदो युजेन फल्ज र फिनल्याण्डका राजदूत पेत्रि पुहाक्का तथा फ्रान्सेली राजदूतावासका प्रतिनिधिबीच सौहार्द भेटघाट सम्पन्न भयो ।

असोज १० : अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानिली म्यूलेबीच अर्थ मन्त्रालयमा सौहार्द भेटघाट सम्पन्न ।

असोज १२ : अर्थमन्त्री खनाल र नेपालका लागि जापानका राजदुत तोरु माएदाबीच शिष्टाचार भेट सम्पन्न भयो।

असोज २८ : विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा अर्थमन्त्री खनालले विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उपप्रवन्ध निर्देशक बोलीसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

असोज २९ : अर्थमन्त्री खनालले अमेरिकाको वाणिज्य प्रतिनिधिसँग भेटे । अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग पनि भेट ।

असोज २९ : त्यसै गरी साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरे ।

असोज २९ : खनालले त्यसै दिन अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रसान्त क्षेत्र हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग भेटे ।

असोज ३० : अर्थमन्त्री खनालले एशियाली विकास बैकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरे ।

कार्तिक १ : अर्थमन्त्री खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरे ।

कार्तिक १ : अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष सहितका अधिकारीहरुसँग अन्तर्क्रिया गरे ।

कार्तिक १३ : नेपाल सरकार र जापान सरकारबीच बी.पी. राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौता । २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँं) बराबरको अनुदान दिने। कार्यक्रममा अर्थमन्त्री खनाल र गृहमन्त्री ओमप्रकाश अर्याल, जापान सरकारको तर्फबाट जापानी राजदूत तोरु माएदा र जाइका नेपालका प्रतिनिधि मात्सुजाकी मिजुकी लगायत सहभागी ।

यसबाहेक अर्थमन्त्रीले नेपाली कर्पोरेट क्षेत्रका प्रतिनिधीलाई जम्मा दुई पल्ट भेटेको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । तर ती दुबै भेट सरकारले बनाएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा पैसा जम्मा गर्नेहरुसँग मात्रै भएको छ ।
अर्थमन्त्रीले उक्त कोषमा पैसा लिनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैकका सीईओ कृष्णबहादुर अधिकारीसँग असोज १२ गते र सूर्यज्योति लाइफ इन्स्योरेन्सका सीईओ प्रकाशविक्रम खत्रीसँग असोज २१ गत भेटेका थिए ।
अरु कोही पनि नेपालीसँग उनले भेटेको विवरण अर्थमन्त्रालयले सार्वजनिक गरेको छैन । त्यसैले बैंकरदेखि व्यवसायीसम्म अहिलेको सरकार र खासगरी अर्थमन्त्री खनालले नेपाली अर्थतन्त्र र यहाँका सरोकारवालाहरुलाई पूर्ण रुपमा बेवास्ता गरेको भनेर गुनासो गर्न थालेका छन् ।













