१० श्रावण २०८३, आइतबार

जेनजी प्रदर्शनपछि क्षति मूल्यांकनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

जेनजी प्रदर्शनपछि क्षति मूल्यांकनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा पुगेको क्षतिको मूल्यांकन र पुन:निर्माण योजना तयारीका लागि राष्ट्रिय योजना आयोगले व्यापक अध्ययन सुरु गरेको छ ।

आयोगका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण संकलन गर्ने लक्ष्यसहित ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएको छ ।

तथ्यांक संकलनमा एकरुपता र सहजताको लागि आयोगले ‘क्षति मूल्यांकन सर्वेक्षण पोर्टल’ सञ्चालन गरेको छ । सम्बन्धित स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरूले अनलाइनमार्फत विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रदर्शनका क्रममा क्षति पुगेका ४४ जिल्लाका करिब २६० पालिका, सबै प्रदेश र संघीय निकायका मन्त्रालय तथा केन्द्रीय कार्यालयलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ । तथ्यांक संकलनमा प्राविधिक सहयोगका लागि पनि टोली खटाइएको छ ।

यसअघि असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिलाई क्षति मूल्यांकन र पुन:निर्माण योजना तयार गर्न कार्यादेश दिइएको थियो ।

योजना आयोगले सहसचिवको नेतृत्वमा सचिवालय गठन गरी उपत्यकासहित ४४ जिल्लामा टोली परिचालन गरेको छ । साथै सहसचिवको नेतृत्वमा सबै प्रदेश र उपत्यकामा ११ सुपरीवेक्षण टोलीसमेत खटाइएका छन्।