प्रहरी र सशस्त्रका लागि १५६ नयाँ गाडी किन्ने तयारी, अर्थले दियो ६८ करोड ३५ लाख बजेटको स्वीकृति
प्रहरी र सशस्त्रका लागि १५६ नयाँ गाडी किन्ने तयारी, अर्थले दियो ६८ करोड ३५ लाख बजेटको स्वीकृति
काठमाडौं। अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि कुल १५६ नयाँ सवारीसाधन खरिद गर्न स्वीकृति दिएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी र सशस्त्रका दर्जनौँ गाडीमा तोडफोड र आगजनी भएकाले नयाँ गाडी किन्न अनुमति दिइएको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) प्रगति प्रतिवेदनमा प्रहरी र सशस्त्र दुवै संस्थाका लागि उक्त संख्याका सवारीसाधन खरिद गर्न सहमति प्रदान गरिएको उल्लेख छ।
गाडी खरिदका लागि थप ६८ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गर्न मन्त्रालयले स्वीकृति दिएको छ।
प्रगति प्रतिवेदनअनुसार, नेपाल प्रहरीका लागि १०० थान पिकअप र ६ थान प्रिजनर भेइकल खरिद गर्न ४५ करोड ३० लाख रुपैयाँ अतिरिक्त बजेट स्वीकृत गरिएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बलका लागि २० पिकअप, २० प्रदर्शन नियन्त्रण गाडी, २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यु गाडी र ५ ट्रक खरिद गर्न २३ करोड ५ लाख रुपैयाँ थप बजेट उपलब्ध गराइने छ।













