अर्थतन्त्र सुध्रने छैन छाँटकाँट, खराब परिस्थितिसँग जुध्न योजना कोर्न थाले बैंक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र सुध्रने छैन छाँटकाँट, खराब परिस्थितिसँग जुध्न योजना कोर्न थाले बैंक



काठमाडौँ । जेनजी आन्दोलनका नाममा ठूला व्यावसायिक सम्पत्तीहरुमाथि आक्रमण भएपछि घरेलु अर्थतन्त्र सुध्रने छाँटकाँट नदेखिएको केही बैंकरहरुले बताएका छन् ।

व्यावसायिक जगतमा नयाँ परियोजना विस्तार गर्ने योजनाहरु त ठप्प भएका छन् नै, पुराना व्यवसाय पनि विस्तारै घटाउने रणनीतिमा धेरै लगानीकर्ता देखिएको बैंकरको भनाइ छ ।

यसले गर्दा बैंकमा थुप्रिएको अधिक तरलताको उपयोग पनि नहुने र पुरानो ऋण पनि नउठ्ने अवस्था आएको भनेर बैंकर चिन्तित देखिएका छन् । यस्तो अवस्थामा बैंकको वित्तीय स्वास्थ्यलाई चुस्त राख्ने कोसिस गरिरहेको उनीहरुले बताए ।

‘जोखिम व्यवस्थापन, संकट व्यवस्थापन भनेर हामीले नियमित रुपमै विभिन्न योजनाहरु बनाउँदै आएका थियौँ’, एक बैंकरले अर्थपथसँग भने, ‘तर अहिले परिस्थिति निकै अप्ठेरो देखिएको छ । त्यसैले अब विशष्टि रणनीति र योजना बनाउनमा जुटेका छौँ ।’

बैंकरले अर्थतन्त्रको हालत असाध्यै खराब भएको अवस्थामा कसरी वित्तीय स्वास्थ्यलाई धानेर राख्ने भन्ने योजनामा काम गरिरहेको बताएका छन् । यसका लागि कर्मचारी कटौति, शाखा कटौतिदेखि नगद प्रवाहको व्यवस्थापन र धितो विक्रीको व्यवस्था, ऋणीको छनोट जस्ता थुप्रै काम गरेर संस्थालाई जोगाउने विकल्पहरुले भरिएको योजना तयार भइरहेको ती बैंकरले बताए ।

अर्का एक बैंकरले पनि अहिलेको अवस्थामा कर्जा नउठ्ने समस्या बढ्दै गएको बताए । मान्छेहरुले सुरक्षाको प्रत्याभूति नगरेको र लगानी विस्तार गर्ने चाहना पनि नगरेको उनी बताउँछन् । ठूला लगानीकर्ताहरु उल्टै यहाँबाट पैसा बाहिर लान खोजिरहेको कतिपय बैंकरको बुझाइ छ ।

लुटिएका हातहतियार र भागेका कैदीबन्दीले पनि मानिसहरुलाई त्रसित पारिरहेको उनीहरुको भनाइ छ । राजधानीमै भएका ठूला व्यावसायिक प्रतिष्ठानहरुको सुरक्षा गर्न सरकार र सुरक्षा निकायहरु असमर्थ भएपछि मानिसहरुले अब आफ्नो निजी जोखिम लिएर उद्यम तथा व्यापारमा पैसा लगानी नगर्ने अवस्था आएको उनीहरु बताउँछन् ।

यदी ठूला ऋणीहरु नै पलायन हुने र उद्योगहरु नै बन्द हुने अवस्था आयो भने पुरा वित्तीय प्रणाली नै ढल्ने अवस्था आउनसक्ने आँकलन बैंकरहरुको छ । ‘आमी असाध्यै निराशावादी हुनु हुँदैन । आशा गर्नुपर्छ’, ती बैंकर भन्छन्, ‘तर अहिलेको परिस्थितिलाई हेर्दा पहिले कहिल्यै नभोगेको खराब परिस्थिति सामना गर्नका लागि पनि मानसिक रुपमा तयार हुनुपर्ने अवस्था छ ।’

यही कारण अर्थतन्त्र डामाडोल हुँदा पनि आफू कसरी बाँच्न सकिन्छ भनेर भिन्न भिन्न बैंकरले आफ्नै तरिकाका योजनाहरु बनाउन थालेको बैंकरले बताए । सबै बैंकको लगानी ढाँचा र ऋणको गुणस्तर भिन्न भएका कारण सबैले आफूलाई सर्वाधिक लाभ हुने गरी योजना बनाइरहेको बैंकर बताउँछन् ।

केही बैंकर भने अहिले पनि सकारात्मक हुनुपर्ने बताउँछन् । थोरै भए पनि ऋण प्रवाह भइरहेको र केन्द्रिय बैंकले पनि सहुलियत दिइरहेका बेलामा अहिले बैंकरले नै व्यवसायीको आत्मबल कमजोर पार्ने कोसिस गर्न नहुने धारणा त्यस्ता बैंकरले राख्दै आएका छन् । तर उनीहरु पनि परिस्थिति खराब हुँदै गयो भने बच्ने उपायहरु सोच्न भने आवस्यक भएको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्