जेनजी आन्दोलनमा ८० अर्बको क्षति, सरकार र निजी क्षेत्रको आधा–आधा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनमा ८० अर्बको क्षति, सरकार र निजी क्षेत्रको आधा–आधा



काठमाडौँ । गत भदौ २४ मा जेनजी आन्दोलनका दौरान भएको ध्वंशात्मक गतिविधिमा ८० अर्बभन्दा बढीको क्षति भएको प्ररम्भिक आँकलन रहेको छ । अर्थ मन्त्रालयले गत मंगलबारसम्म संकलन भएको आँकडाको आधारमा यस्तो तथ्यांक सार्वजनिक गरेको छ ।

‘आन्दोलनका क्रममा भएको लस एण्ड ड्यामेजको एसेसमेन्ट योजना आयोगको नेतृत्वमा सम्पन्न हुने क्रममा छ’, अर्थमन्त्रालयका प्रवक्ता टंक पाण्डेले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर भने, ‘यसको प्रारम्भिक जानकारी अनुसार हिजोसम्म करीब ८० अर्ब क्षतिको विवरण प्राप्त भएको छ ।’

यसमध्ये करीब ४१ अर्ब बराबरको सार्वजनिक सम्पत्ति विध्वंश भएको र करीब ३९ अर्ब बराबरको निजी सम्पत्ती नाशिएको प्रवक्ता पाण्डेले बताए । यसको विस्तृत विवरण केही दिनमै प्रकाशन हुने उनले बताए । ं‘कुन निकायको कति क्षति भन्ने विस्तृत विवरण आउने नै छ’, उनले भने ।

यसरी भएको क्षतिको पुनर्निर्माण योजना पनि अध्ययनकै सिलसिलामा सँगसँगै अगाडी बढाइएको उनले बताए । ‘कस्तो खालको पुनर्निर्माण योजना बनाउने, कसरी जाने भन्ने विषयमा रिपोर्टमा विस्तृत आउने छ’, उनले थपे ।

मन्त्री परिषदले गत असोज ५ गते पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गरेको थियो । त्यो कोषमा हालसम्म ८ करोड २६ लाख रुपैयाँ जम्मा भएको मन्त्रालयले जनाएको छ । सरकारका दुई जना शक्तिशाली मन्त्रीहरु कुलमान घिसिङ र रामेश्वर खनालले निकै उत्साहका साथ यो कोष स्थापना गरेका थिए ।

तर अहिले सरकारको सहायता टड्कारोसँग चाहिने केही पब्लिक लिमिटेड कम्पनीहरुले मात्रै यो कोषमा सहायता दिएको भनेर चर्चा परिचर्चा भइसहेको छ । हुन पनि ८० अर्बको क्षतिमा ८ करोड उठ्नु भनेको यो कोषको प्रभावकारितामाथि नै प्रश्न उठाउने विषय हो । किन कि, यो रकमले ०.१ प्रतिशतमात्रै पुनर्निर्माण हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्