भिजिट भिसाको नयाँ प्रपञ्च, बर्मा र थाइल्याण्डमा समातिएका नेपाली फर्काउँदै दूतावास - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भिजिट भिसाको नयाँ प्रपञ्च, बर्मा र थाइल्याण्डमा समातिएका नेपाली फर्काउँदै दूतावास



काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा पुगेका नेपालीलाई त्यहाँ रहेका नेपाली राजदूतावासहरुले धमाधम फिर्ता पठाउन थालेको छ ।

यसको पहिलो चरणमा ३७ जना नेपालीलाई स्वदेश फर्काइएको थाइल्याण्ड स्थित नेपाली राजदूतावास बैंककले जनाएको छ ।

विभिन्न माध्यमबाट म्यानमार (बर्मा) पुगेर अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू कार्यरत नेपालीहरुको दूतावासले उद्धार गरेको हो । ती नेपालीलाई बर्माका विभिन्न अनलाईन डेटिङ, अनलाईन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएको दूतावासले जनाएको छ ।

गएको कात्तिक २ गते त्यस्ता स्क्यामिङ्ग केन्द्रहरुमा म्यानमारको सुरक्षाकर्मीले छापामारेको थियो । त्यही बेला बर्माबाट भागेर थुप्रै मानिस थाईल्याण्ड प्रवेश गरेका थिए । यसरी थाइल्याण्ड पुग्ने ३७ जनालाई उद्धार गरेर बुधबार नेपाल पठाएको दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा ती नागरिकको उद्धार गरी आज (मंसिर ३ मा) नेपाल एयरलाइन्सको उडान नम्बर ‘आरए ४०२’ मार्फत नेपाल फर्काएको हो । ती मानिसहरु ‘भिजिट भिसा’ बोकेर दक्षिणपूर्वी एसियाली देशहरुमा पुगेका थिए ।

त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाईल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई यथाशिघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भईरहेको दूतावासले जनाएको छ।

बैंकक स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुन:अनुरोध गर्दछ।’


प्रतिक्रिया दिनुहोस्