नेपालमा पढ्न र उपचार गर्न आउने विदेशी मार्फत भित्रियो ८५ करोड, विद्यार्थी र बिरामीले किन रोज्न थाले नेपाल ?
काठमाडौं । वैदेशिक अध्ययन र स्वास्थ्य उपचारको शीर्षकमा नेपालबाट वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ । उच्च शिक्षाका लागि विदेशिने नेपाली विद्यार्थीहरूको लर्को निकै लामो छ ।
अर्को तर्फ स्वास्थ्य उपचारमा पनि बाहिरिने रकमको आकार पनि मोटो नै हुने गरेको छ । यस्तो कुरा हामीले धेरै समय अघि देखिनै सुन्दै, पढ्दै आएको विषय हो, ह यी सब हामीलाई थाहा भएकै कुरा हुन् । तर, पछिल्लो समय शिक्षा र स्वास्थ्यको नाममा विदेशिने नेपालीको भीडभन्दा नेपाल छिरेर स्वास्थ्य उपचार गर्नेको संख्या बढ्न थालेको छ । अझ नेपालमै अध्ययन गर्न आउने विदेशीको संख्या पनि थप बढ्दो देखिन्छ । नेपालको स्वास्थ्य सेवा र शिक्षामा विदेशी आकर्षण तीव्र हुँदै जाँदा त्यसबापत भित्रने रकम पनि लगातार बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । स्वास्थ्य उपचार र शिक्षा मार्फत तीन महिनामै ८५ करोड ५२ लाख रुपैयाँ नेपाल भित्रिएको छ । गत आवमा भने कुल ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार नेपालीले विदेशमा गएर उपचारमा गर्ने खर्चको तुलनामा विदेशीले नेपालमा आएर गर्ने खर्च दोब्बर देखिन्छ । चालु आवको पहिलो तीन महिनाको आँकडा मात्रै हेर्ने भने पनि स्वास्थ्य उपचारमा विदेशीहरूले झन्डै १२ करोड खर्चिएका छन् । यस्तो शीर्षकमा नेपालबाट भने ६ करोड ७५ लाख रुपैयाँ मात्रै बाहिरिएको छ । तर, त्यसको दोब्बर अर्थात् ११ करोड ९४ लाख रुपैयाँ नेपाल भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४.२६ गुणा बढी हो । गत आवको पहिलो तीन महिनामा नेपाल आएर उपचारका लागि विदेशीहरूले २ करोड ८० लाख रुपैयाँ मात्रै खर्च गरेका थिए । नेपालबाट स्वास्थ्य उपचारका लागि बाहिरिने रकम भने घट्दै गएको देखिन्छ ।
गत आवभर विदेशीले ४० करोड ५३ लाख रुपैयाँ बराबरको रकम नेपालमा उपचारका लागि खर्चिएका थिए । तर, सो आवमा नेपालीले भने ४९ करोड रुपैयाँ खर्चिएको देखिन्छ ।
नेपालमा विशेषगरि आँखा उपचार, हड्डी तथा जोर्नी, क्यान्सर उपचार, दन्त उपचार, मुटु रोग र किड्नी तथा ट्रान्सप्लान्टका लागि विदेशीहरू आउने गरेका छन् । तिलगंगा लगायतको आँखा केन्द्रको विश्व स्तरीय सेवा, सस्तो र दिगो विकल्पको क्यान्सर उपचारले पनि विदेशीको आकर्षण बढ्दो छ । यस्ता उपचारमा चीन, भारत, बङ्गलादेश, भुटान र थाइल्यान्ड लगायतका मुलुकबाट नेपालमा आउने गरेका छन् ।
तिलगंगा लगायतका संस्थाहरूको विश्वभर नै उच्च प्रतिष्ठा रहेकाले आँखा उपचारमा नेपाल आउने गरेका छन् । काठमाडौं लगायतका क्यान्सर अस्पतालहरूमा दक्षिण एसियाली बिरामीहरूको बढ्दो आगमन, मुटुको उपचार पनि तुलनात्मक सस्तो, दक्ष विशेषज्ञ र कम लागतका कारण विदेशी आकर्षित भएको जानकारहरू बताउँछन् ।
नेपालमै पढ्न आउने विदेशीको आकर्षण पनि बिस्तारै चुलिँदै, तीन महिनामै भित्रियो साढे ७३ करोड
स्वास्थ्य उपचारका लागि नेपाल आउने मात्रै होइन, अध्ययनका लागि नेपाल भित्रिने रकम पनि बढ्दो नै छ । पछिल्लो समय विदेश पढ्न जाने नेपाली विद्यार्थीहरूको संख्या झन् झन् बाक्लिँदो नै छ ।
नेपालबाट प्लस टु (कक्षा १२) र ब्याचलर्स सकेपछि ठुलो समूह विदेशिन्छन् । आर्थिक हैसियत सुधार्न, नयाँ अवसर पाउन र जीवनस्तर नै उठाउने लक्ष्यसहित नेपाली विद्यार्थीहरू विदेश अध्ययनलाई भविष्य निर्माणको मुख्य ढोका नै मानिरहेका छन् । जसका कारण तीन महिनामै वैदेशिक अध्ययन शीर्षकमा ४ अर्ब ९५ करोड रुपैयाँ बाहिरिइसकेको छ । यो गत आवको असोज मसान्तसम्मको तुलनामा भने ३३.३२ प्रतिशत धेरै हो । जबकि, गत आवको सो अवधिमा यस्तो शीर्षकबाट बाहिरिने रकम ३२ अर्ब २१ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
गत आवभर पनि कुल १ खर्ब ३८ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबरको रकम शिक्षा मार्फत नेपालबाट बाहिरिएको थियो । अघिल्लो आवमा पनि एक खर्ब २५ अर्ब १३ करोड १९ लाख रुपैयाँ बाहिरिएको थियो । नेपाली विद्यार्थीको विदेशिने क्रम बढिरहेको बेला नेपाल पस्ने विदेशीको संख्या पनि वर्षेनि बढ्दै छ । अर्थात् नेपालमा अध्ययन गर्न आउने विदेशीहरूको संख्या पनि बढ्दो देखिन्छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको तीन महिनामा नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थी मार्फत कुल ७३ करोड २७ लाख रुपैयाँ भित्रिएको छ । जबकि, गत आवको सोही अवधिमा ७२ करोड १६ लाख रुपैयाँ नेपाल आएको थियो ।
नेपालको मेडिकल, कानुन, व्यवस्थापन, दन्त, पब्लिक हेल्थ, आइटी, होटेल तथा म्यानेजमेन्ट जस्ता विषयमा विदेशी विद्यार्थीहरूको रुचि लगातार बढेको छ । पूर्वीय दर्शन, योग, बौद्ध अध्ययनमा नेपाल विश्वकै केन्द्र मानिन्छ । नेपाल सुरक्षित, किफायती र संस्कृतिमैत्री रहेकाले पनि विदेशीको आकर्षण बनेको बताइन्छ ।
विदेशी विद्यार्थीहरूले नेपालमा आवास खर्च, कलेज शुल्क लगायतका शीर्षकमा ठुलो रकम खर्चिने गर्छन् । त्यस बापत नै विदेशी मुद्रा नेपाल भित्रिने गरेको छ । गत आवमा मात्रै ३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ शिक्षा मार्फत नेपाल भित्रिएको थियो । अघिल्लो आवास पनि ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ भित्रिएको राष्ट्र बैंकको आँकडा छ ।
विदेशी तान्न र नेपाली रोक्न सरकारले के गर्नुपर्छ ?
विज्ञहरूका अनुसार स्वास्थ्य र शिक्षामा नेपालले नयाँ सम्भावना देखाएको भए पनि यो प्रवाहलाई स्थिर बनाउन सरकार र निजी क्षेत्रले मिलेर केही मुख्य कदम चाल्न जरुरी छ ।
अस्पताल र विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको ‘एक्रेडिटेशन’मा लैजानुपर्ने उनीहरूको सुझाव छ । यसले विदेशी बिराम, विद्यार्थीको भरोसा बढाउने र स्वदेशमै उपचार र उपचार गर्न चाहने नेपालीलाई पनि विकल्प दिने बताउँछन् ।
अर्को तर्फ स्वास्थ्य उपचार र कलेज शुल्क पारदर्शी तथा किफायती बनाउन एकीकृत नियमन आवश्यक रहेको उनीहरूको भनाई छ । अनलाइन सेवा, गुनासो व्यवस्थापन र शुल्कको स्पष्ट सूचीले नेपाललाई प्रतिस्पर्धी बजारमा उभ्याउन सक्ने विज्ञहरू बताउँछन् ।
यस्तै, विदेशी विद्यार्थी र बिरामीका लागि भिसा, भर्ना, उपचार र आवास प्रक्रियालाई सहज बनाउनुपर्ने बताइन्छ । चिकित्सा र उच्च शिक्षामा योग्य जनशक्ति उत्पादन, अनुसन्धान केन्द्र सुदृढीकरण तथा नयाँ शैक्षिक कार्यक्रम सुरु गर्न सके नेपाल दक्षिण एसियामै ‘हेल्थ–एजुकेसन हब’ बन्ने विज्ञहरूको ठम्याइ छ ।
उनीहरू भन्छन्,‘गुणस्तर, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सके स्वास्थ्य र शिक्षाबाट नेपालमा आउने विदेशी बढ्छन्, विदेश जाने नेपाली घट्छन् । नेपाल अब पर्यटनसँगै पढाइ र उपचारका लागि पनि आकर्षक गन्तव्य बन्न सक्छ ।’













