देश रित्तिँदाको फल : रेमिट्यान्सले तोड्यो सबै कीर्तिमान - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

देश रित्तिँदाको फल : रेमिट्यान्सले तोड्यो सबै कीर्तिमान



काठमाडौँ । गएको असोज एकै महिनामा २ खर्ब १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो । यो नेपालले एकै महिनामा भित्र्याएको हालसम्मकै उच्च रेमिटेन्स हो ।

यो अंक किन पनि महत्वपूर्ण हो भने, पोहोर साल नेपालले वर्षैभरी वस्तु निर्यात गरेर कुल पौने ३ खर्ब पैसा कमाएको थियो । त्योभन्दा अघिका दुई सालमा त वार्षिक डेढ खर्ब हाराहारीको मात्रै वस्तु निर्यात भएको छ । अर्थात् वर्षभरीमा नेपालले वस्तु बेचेर कमाउने जति पैसा त झण्डै एक महिनामा रेमिट्यान्समार्फत् भित्र्याएको छ ।

वार्षिक बृद्धिको हिसाब गर्ने हो भने पोहोर असोजको तुलनामा यो साल ३५ प्रतिशतभन्दा फराकिलो अन्तरले आयमा बृद्धि भएको छ । जुन २०७५ कात्तिकयताकै सबैभन्दा उच्च बृद्धिदर हो ।

भदौमा पनि अघिल्लो सालको त्यही महिनाभन्दा ३३ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको थियो ।

स्वदेशमा रोजगारीको अवसर नपाएर संसारका कुनाकुना पुगेका श्रम बेच्ने नेपालीले त्यहाँ कमाएको पैसा यसरी रेमिट्यान्स भनेर नेपाल भित्र्याउँछन् । यो आर्थिक वर्ष २०८२/८३ मा मात्रै ५ खर्ब ५३ अर्बभन्दा ज्यादा रेमिट्यान्स भित्र्याइसकेको छ ।

ब्यापक मात्रामा नेपालबाट युवा पलायन बढेपछि रेमिट्यान्समा उल्लेख्य बृद्धि हुने र घरेलु बजारमा समष्टिगत माग घट्ने अवस्था सिर्जना भएको छ । यसले नेपालको ब्यापार घाटाा पूर्ति गर्न निकै सजिलो भएको छ ।

चार वर्ष अघि २०७८ मंसिरको आँकडाले भन्छ— त्यो साल साउनदेखि मंसिरसम्म भित्रिएको रेमिट्यान्सले त्यसै अवधिमा भएको व्यापार घाटाको जम्मा ५५ प्रतिशतमात्रै भुक्तानी गर्न पुग्ने अवस्था थियो । तर गत साउनमा आउँदा रेमिट्यान्सको जम्मा ६१ प्रतिशतमात्रै खर्च गर्दा पुरै वस्तु ब्यापार घाटाको परिपूरण गर्न सकिने अवस्था भएको छ । अर्थात् ब्यापारको घाटा तिरेर पनि ३९ प्रतिशत हाराहारी पैसा बच्ने अवस्था आएको छ ।

यही रेमिट्यान्सको बलमा नेपालसँग कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २१ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो सञ्चितिले अहिलेकै अवस्थामा १६ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त भएको केन्द्रिय बैंकले आँकडा छ । जबकी, राष्ट्र बैंकले ७ महिनाको आयात धान्न पुग्ने विदेशी विनिमय भएमा पर्याप्त हुने भनेको थियो ।

कुनै बेला पैसा अभाव भएर आयत प्रतिबन्ध गर्नुपर्ने अवस्था आएको थियो भन्ने तथ्य यो आँकडाले विर्साइदिने भएको छ । श्रमिक निर्यात गरेर यसरी पैसा कमाउने संसारका ज्यादै कम मुलुमध्ये नेपाल पर्छ । पछिल्ला ३ वर्षमा नेपाली अर्थतन्त्रको आकार अनुसार रेमिट्यान्सको बढोत्तरी व्यापक रफ्तारमा भएको छ ।

वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा २०.२ प्रतिशत हाराहारी रेमिट्यान्स भित्रिएको थियो भने गत असारमा सकिएको आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आयको आँकडाले जीडीपीको २८.२२ प्रतिशत नाघेको छ । अर्थतन्त्रको अनुपातमा नेपालले भित्र्याएको रेमिट्यान्स पनि अहिलेसम्मकै उच्च हो ।

विश्व बैंकले अघिल्लो साल अर्थतन्त्रको आधारमा ज्यादा रेमिट्यान्स भित्र्याउने मुलुकको सूची प्रकाशित गर्दा नेपाल ६ नम्बरमा परेको थियो ।

ताजिकिस्तान, तोङ्गा, निकारागुआ, लेबनान र सामोआपछि नेपालको स्थानथियो । तर गत आर्थिक वर्षको आँकडाले नेपाललाई यो सूचीको तेस्रो स्थानमा उकाल्ने संभावना बढाएको छ । किनकी, ताजिकिस्तान र तोङ्गाबाहेकका देशको रेमिट्यान्स आप्रवाह त्यहाँको जीडीपीको तुलनामा २८ प्रतिशतभन्दा कम देखिन्छ, जुन नेपालले पार गरिसकेको छ ।

विश्वबैंकले देखाएको चित्र यस्ता छन् :


प्रतिक्रिया दिनुहोस्