अन्तर्राष्ट्रिय बैंक दिवसः नेपालसहित विकासशील देश ५० वर्षयताकै बढ्दाे ऋण जाेखिममा, विश्व बैंकले दियो चेतावनी
काठमाडौं । आज अन्तर्राष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।
एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो ।
यसै सन्दर्भमा बुधबार विश्व बैंकले अन्तािरष्ट्रय ऋण रिर्पोट २०२५ सार्वजनिक गर्दै विकासशिल देशहरु वित्तिय जोखिमको चपेटामा परेको उल्लेख गरेको छ । विकासशील राष्ट्रहरूको ऋण सेवा लागत र नयाँ वित्तपोषण बीचको खाडल ५ दशकभन्दा बढीको उच्चतम बिन्दुमा पुगेको रिपोर्टले देखाएको हो ।
२०२२–२०२४ बीचमा विकासशील देशहरूको ऋण तिर्न र नयाँ ऋण पाउने बीचको अन्तर ५० वर्षमा सर्वाधिक ७४१ अर्ब डलर पुगेको छ। २०२४ मा यी देशहरुले ब्याज भुक्तानीमा मात्र ४१५.४ अर्ब डलर ब्याज तिरेका छन्, जुन इतिहासमै सबैभन्दा बढी मानिएको छ ।
यस्तै प्रतिवेदनले निम्न र मध्यम आय भएका देशहरूको बाह्य ऋण ८.९ ट्रिलियन डलर पुगेको देखाएको छ भने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) मार्फत ऋण लिन पाउने ७८ देशको मात्र बाह्य ऋण १.२ ट्रिलियन डलर छ । आईडीएबाट ऋण लिनेहरुको सूचीमा नेपाल पनि समावेश छ ।
यता नेपाल सरकारको गत कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।
नेपाल लगायत धेरै मध्यम र निम्न आय भएका देशका लागि विश्व बैंकको यो रिपोर्ट खतराको घण्टी हो। यस्ता देशहरूले राजस्व र खर्च व्यवस्थापन मजबुत बनाउँदै अर्थतन्त्रको संरचना सुधार नगर्दा ऋणको सावा ब्याज भुक्तानी, घरेलु बैंकिङ्गमा दबाव, र सामाजिक विकास खर्च कटौती गर्नु पर्ने समस्याहरूले समृद्धि र विकासको मार्ग कठिन बनाउने रिपोर्टमा उल्लेख छ ।
विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले विश्वव्यापी वित्तीय अवस्थामा केहि सुधार देखिए पनि विकासशील देशहरूले आफूलाई सुरक्षित मान्न नहुने बताएका छन् । गिलले यस्ता देशहरूले बाह्य ऋणको बोझ थप्नु भन्दा अहिलेको शान्त वित्तीय अवस्था उपयोग गरेर देशहरूले आफ्नो आर्थिक व्यवस्थालाई मजबुत बनाउनु पर्ने सुझाव दिएका छन् ।













