क्यानका महानिर्देशक अधिकारी कारागार चलान, धरौटीमा छोड्न विशेष अदालतद्वारा अस्वीकार
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासको आदेशमा अधिकारी कारागार चलान भएका हुन्।
अधिकारीका कानुन व्यवसायीहरुले उनलाई धरौटीमा छोड्न माग गरे पनि विशेष अदालत उनलाई धरौटीमा छोड्न अस्वीकार गरेकाे छ ।
यता अधिकारीसँगै मुद्दा दायर भएका क्यानका निर्देशक मुरारी भण्डारीलाई अदालतले ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।
अधिकारी लगायत क्यानका चार कर्मचारी, एक कम्पनी र कम्पनीका दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार १३ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अधिकारी लगायत ५५ जनाविरुद्ध अख्तियारले आइतबबार ८ अर्ब ३६ करोड रुपैयाँ बिगो कायम गरी अर्को मुद्दा दायर गरेको छ।













