जेनजी आन्दोलनको असर : नेपालमा लगानी गर्नै डराउन थाले विदेशी लगानीकर्ता !
काठमाडौं । यसै पनि नेपालमा विदेशी लगानीको प्रतिबद्धता धेरै, तर वास्तविकता नगन्यमात्रै रहँदै आएको थियो । सुरुमा उत्साहित भएर नेपालमा लगानी गर्न तम्सने विदेशी लगानीकर्ता पनि यहाँको प्रक्रियागत झमेला, ढिलासुस्ती र भ्रष्टाचार तथा निजी क्षेत्रकै असहिष्णु व्यवहार आदी समस्याले आजित भएर साँच्चै लगानी भित्र्याउन अनिच्छिुक देखिँदै आएका थिए ।
अब त विगतमा उत्साहित भएर आउने सुरुआति प्रतिबद्धता नै पनि लगातार घट्दो श्रृङ्खलामा देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी जनआन्दोलनपछि विदेशी लगानीकर्ताहरु यहाँ प्रवेश गर्न पनि डराउने अवस्था आउन थालेको देखिएको छ ।
उक्त आन्दोलनका दौरान देशभरका २१६८ निकाय वा संस्थाका ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो ।
जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुन:निर्माण योजना तयार गर्न गठित समितिको अनुसार आन्दोलनका क्रममा ५४ जिल्लाका २६२ स्थानीय तहमा क्षति भएको थियो ।
सरकारी तथा सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर मूल्याङ्कन गरिएको छ । विदेशी चेन होटलको रूपमा रहेको हिलटन होलट जलेर खरानी भए ।
कयौ व्यापारिक केन्द्रहरूमा आगलागी लुटपाटका घट्नाहरु भए । भाटभटेनी जस्तो सुपर मार्केट धेरै ठाउँमा लुटपाट र आगलागी भए । आन्दोलनमा परेर ७७ जनाले आफ्नो ज्यान समेत गुमाए ।
यो सबै घटनाको असर अहिले विदेशी लगानीमा देखिएको छ । जेन–जी आन्दोलन पछि विदेशी लगानी आउन मुस्किल पर्न थालेको छ । उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
जुन अगिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी देखिएको छ । अघिल्लो वर्ष ५ महिनाको अवधिमा अर्थात् मंसिर मसान्तसम्ममा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपैयाँ प्रतिबद्धता आएको थियो ।
पुरै ५ महिनाको तथ्यांकलाई हेर्ने हो भने विदेशी लगानी प्रतिबद्धता बढी आएको देखिए पनि मासिक रूपमा आएको प्रतिबद्धता हेर्ने हो भने जेन–जी जनआन्दोलन पछि भने घटेको छ ।
जेन–जी जनआन्दोलन भएको महिना भदौमा १०९ वटा कम्पनीले ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्षको तुलनामा यो पनि बढी देखिन्छ । अघिल्लो वर्ष भदौमा ३८ वटा कम्पनीले ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता गरेका थिए ।
भदौमा जेन–जी जनआन्दोलन महिनाको अन्तिम तिर भएकाले पनि विदेशी लगानी प्रतिबद्धता बढेको देखिन्छ । यो सबै लगानी प्रतिबद्धता भदौ २४ गते भन्दा अगाडि भएका प्रतिबद्धता भएकाले त्यो बेलमा विदेशी लगानी खुलेर लगानी गर्ने आउन इच्छुक भएको देखिन्छ ।
त्यसपछिको खास असर भने असोजबाट देखिएको छ । चालु आर्थिक वर्षको असोजमा ७५ वटा कम्पनीले २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता गरेका छन् । जुन सोही अवधिमा अघिल्लो वर्षको तुलनामा १ अर्ब २५ करोड ९६ लाख २४ हजारले घटी हो ।
अघिल्लो वर्ष भदौमा यस्तो लगानी प्रतिबद्धता ३४ वटा कम्पनीले ३ अर्ब ३० करोड ५३ लाख ५६ हजार रुपैयाँ बराबरको गरेका थिए । अघिल्लो वर्ष भदौमा मध्यम लगानी एउटा वटा आएकोमा यो वर्षको भदौमा भने सबै साना लगानी मात्र प्रतिबद्धता आएका छन् ।
कार्तिकको तथ्याङ्क हेर्दा उस्तै उस्तै लागे पनि जेन–जी आन्दोलन भन्दा अगाडि जुन रफ्तारमा विदेशी लगानी प्रतिबद्धता बढेको थियो त्यो स्तरमा भने आएको छैन । अघिल्लो वर्षको तुलनामा यो वर्ष कार्तिकमा ६ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता कम आएको हो ।
अघिल्लो वर्ष १ अर्ब ६१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा यो वर्ष १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ । जेन–जी आन्दोलन अगाडि जुन स्तरमा बढेको थियो त्यसको तुलनामा निकै कम हो ।
मंसिरमा समेत लगानी प्रतिबद्धताको असर राम्रोसँग देखिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मंसिरमा १९ करोड ७२ लाख ९१ हजार रुपैयाँ कमको प्रतिबद्धता आएको छ ।
अघिल्लो वर्ष २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएकोमा यो वर्ष मंसिर मसान्तसम्ममा १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र आएको छ ।
विदेशी लगानीको असर सिधा रोजगारीसँग पर्छ । विदेशी लगानीले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कयौँ रोजगारी पाएको हुन्छ । विदेशी लगानीले गर्दा अर्थतन्त्र चलायमान भएको हुन्छ । त्यो नआउँदा वा कम आउँदा आर्थिक चलायमान कम हुने भएकाले अर्थतन्त्रमा असर गर्छ ।













