मुलुककाे व्यापार घाटा साढे ६ खर्ब, कस्तो छ ५ महिनाको आयात-निर्यातको अवस्था ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मुलुककाे व्यापार घाटा साढे ६ खर्ब, कस्तो छ ५ महिनाको आयात-निर्यातको अवस्था ?



काठमाडौं । मुलुकको व्यापार घाटा साढे ६ खर्ब रुपैयाँ रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरमसान्त) सम्मको तथ्यांकले यस्तो देखाएको हो।

विभागका अनुसार यो ५ महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ देखिएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशत बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म मुलुकको व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ थियो।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ देखिएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २०.०७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो।

आयात र निर्यात दुवै बढ्यो

चालु आर्थिक वर्षको ५ महिनामा आयार र निर्या दुबै बढेको छ । विभागको तथ्यांकअनुसार साउनदेखि मंसिर महिनामा आयात १५.८३ र निर्यात ५८.१७ प्रतिशत बढेको छ ।

मंसिर मसान्तसम्म नेपालबाट कुल ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँबराबर आयात भएको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १५.८३ प्रतिशत बढी हो। अघिल्लो वर्ष फागुनसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको आयात भएको थियो।

यसैगरी मंसिरसम्म १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँबराबर वस्तु निर्यात भएको छ। यो पनि अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५८.१७ प्रतिशत बढी हो। अघिल्लो वर्षको यस अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार बराबरको वस्तु निर्यात भएको थियो।

नेपालको कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा १३.२० प्रतिशत र आयातको हिस्सा ८६.८० प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्