दैनिक झण्डै १२ हजार लिटर विदेशी रक्सी प्यूँदै छन् नेपाली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दैनिक झण्डै १२ हजार लिटर विदेशी रक्सी प्यूँदै छन् नेपाली



काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पछिल्लो पाँच महिनामा नेपालमा ठुलो परिमाणमा रक्सी आयात भएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्ममा पुरै ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात हुँदा सो अवधिमा १ अर्ब २७ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको रक्सी आयात भएको छ । 

पाँच महिनामा १७ लाख ५६ हजार ४१५ लिटर रक्सी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । दैनिक रूपमा उक्त रक्सीको खपत हेर्ने हो भने झन्डै १२ हजार लिटर हरेको छ । आयात भएको लिटरलाई १५२ ले भाग गर्दा ११ हजार ५५५ लिटर रक्सी उपभोग भएको देखिन्छ । 

उक्त रक्सीबाट नेपाल सरकारले २ अर्ब १० करोड ७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आयातित रक्सीबाट उठेको राजस्व आयात मूल्यभन्दा बढी भएको कारण राजश्व बढी देखिएको हो । तथ्यांक अनुसार औसतमा एक लिटर रक्सी आयात गर्दा करिब ७ सय २८ रुपैयाँ खर्च भएको देखिन्छ । तर सोही एक लिटरबाट सरकारले करिब १ हजार १ सय ९६ रुपैयाँ राजस्व संकलन गरेको छ ।

मंसिर मसान्तसम्ममा आयात भएको रक्सी मध्ये ३९.९४ प्रतिशत अल्कोहल भएको ह्विस्की बढी आयात भएको छ । यो रक्सी ३३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको १ लाख ३० हजार ९ लिटर रक्सी आयत भएको छ । जसबाट ६६ करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको राजश्व सरकारले पाएको छ । 

सबैभन्दा बढी रक्सी बेलायतबाट आयात भएको विभागको तथ्यांकमा देखाउछ । बेलायतबाट मात्र ६५ करोड ७४ लाख ६ हजार रुपैयाँ बराबरको २ लाख ९६ हजार ९८ लिटर रक्सी आयात भएको छ । जसबाट सरकारले १ अर्ब ७ करोड ४५ लाख ६७ हजार रुपैयाँ राजश्व पाएको छ । 


प्रतिक्रिया दिनुहोस्