अमेरिका-भेनेजुएला तनावः कति सुरक्षित छ नेपालको वैदेशिक व्यापार ? आयात निर्यातको अवस्था कस्तो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिका-भेनेजुएला तनावः कति सुरक्षित छ नेपालको वैदेशिक व्यापार ? आयात निर्यातको अवस्था कस्तो ?



काठमाडौं । अमेरिकाले भेनेजुएलामा तीव्र सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई निवासबाट नियन्त्रणमा लिएपछि यो घटना विश्वव्यापी रूपमा ठुलो चर्चाको विषय बनेको छ ।  जनवरी ३ (शनिवार) भएको यो सैन्य कारबाहीले भेनेजुएलाको राजनीतिक स्थिरतामा ठुलो परिवर्तन ल्याएको छ ।

अमेरिकी न्याय प्रक्रियामा मदुरोलाई लागुऔषध तस्करी तथा नार्को टेररिजमका आरोपमा मुद्दा चलाउने तयारी भइरहेको छ । यसले भेनेजुएलाको आर्थिक तथा व्यापारिक अवस्थामा दीर्घकालीन प्रभाव पार्न सक्ने विश्लेषकहरुले बताएका छन् ।  अन्य साझेदार मुलुकसँगको वैदेशिक व्यापारमा प्रत्यक्ष प्रभाव पारे पनि नेपालसँगको व्यापारमा भने न्यूनतम असर पर्ने देखिन्छ ।

नेपाल मुख्य रूपमा भारत, चीन, अमेरिका र युरोपेली देशहरूसँग व्यापार गर्छ, जहाँ ऊनी गलैँचा, चिया, जडीबुटी जस्ता वस्तु निर्यात गर्छ र पेट्रोलियम पदार्थ, मेसिनरी तथा उपभोग्य वस्तु निर्यात गर्छ । भेनेजुएलाबाट नेपालले कुनै उल्लेख्य मात्रामा तेल वा अन्य वस्तु आयात गर्दैन, भने भेनेजुएलातर्फ निर्यात हुने वस्तुहरू नगण्य नै छ । तसर्थ, यो घटनाले नेपालको समग्र व्यापार सन्तुलनमा प्रत्यक्ष र तत्काल प्रभाव पार्ने सम्भावना कम छ । 

नेपालको व्यापार नीति मुख्य रूपमा छिमेकी तथा एसियाली देशहरूसँग केन्द्रित रहेकाले यस घटनाबाट नेपालको आयात–निर्यातमा न्यूनतम वा शून्य प्रभाव पर्नेछ ।

यद्यपी भेनेजुएला सँग नेपालको व्यापारिक सम्बन्ध प्रत्यक्ष र ठुलो परिमाणको नभए पनि, पेट्रोलियमजन्य वस्तु, रसायन वा तेस्रो देशमार्फत हुने अप्रत्यक्ष व्यापारमा भने केही असर पर्न सक्छ । यस्तो संकटको अवस्थामा भेनेजुएलाको उत्पादन, ढुवानी र भुक्तानी प्रणाली अवरुद्ध हुन सक्छ, जसले नेपालतर्फ आउने वस्तुको उपलब्धता घट्न सक्छ वा लागत बढ्न सक्छ ।

नेपालले भने भेनेजुएलाभन्दा बढी व्यापार अमेरिकासँग गर्ने गरेको छ । भन्सार विभागले दिएको तथ्यांक अनुसार नेपालको व्यापार अमेरिकासँग ठुलो रहेको छ । नेपालबाट निर्यात गर्ने सामानमा अमेरिका भारत पछि दोस्रो नम्बरमा पर्छ । 

चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनाको अवधिमा नेपालले पुरै १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको निर्यात गर्दा अमेरिकामा मात्र ७ अर्ब ४२ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । 

यता भनेजुएलामा भने ३१ लाख ५९ हजार रुपैयाँ बराबरको मात्र निर्यात गरेको भन्सार विभागको तथ्यांकमा देखिएको छ । 

नेपालको आयतको हिसावले पनि अमेरिका शिर्ष स्थानमै छ । नेपालले अमेरिकासँग १० अर्ब ३५ करोड ७ लाख रुपैयाँ बराबरको आयात गर्दा भेनेजुएलासँग भने ३९ लाख २९ हजार रुपैयाँ बराबरको मात्र आयात गरेको छ । 

अमेरिकासँग नेपालको व्यापार घाटा २ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बराबरको हुँदा भेनेजुएलासँग भने ७ लाख ७० हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ । 

काजू, खोल बिना, ताजा वा सुकेको अन्य खादन सामग्रीहरू भेनेजुएलाबाट आयत हुने गरेको छ भने अमेरिकाबाट बढी मात्रमा रक्सी र स्वबिनको तेल, केक, कुकुर र बिरालोको खोकुारहरु आयत हुने गरेको देखिएको छ । 

नेपालले भने अमेरिकामा फ्रोजन मासु, माछा, मह जस्ता बस्तुहरू मुख्य रूपमा निर्यात भएको भने भेनेजुएलामा भने औषधिहरू मुख्य रूपमा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । 


प्रतिक्रिया दिनुहोस्