नेपाली सिमेन्टको वैदेशिक बजार : परिमाण घट्दा पनि मूल्यमा सुधार ! - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाली सिमेन्टको वैदेशिक बजार : परिमाण घट्दा पनि मूल्यमा सुधार !



काठमाडौं । नेपाली सिमेन्टको वैदेशिक निर्यातमा परिमाणगत गिरावट आए पनि आम्दानीमा भने सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिना (मंसिर मसान्त) सम्मको तथ्यांकले अनुसार निर्यात हुने टनमा गिरावट आए पनि मूल्यमा भने सुधार देखिएको छ । 

चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको ६ लाख ६८७ टन सिमेन्ट निर्यात भएको छ । जुन गत वर्ष निर्यात भएको सिमेन्टको तुलनामा ९८ हजार ८२२ टनले कम हो । 

विभागको तथ्यांक अनुसार विगत चार वर्षको तुलनामा सिमेन्ट निर्यातको ग्राफमा निकै उतारचढाव आएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उल्लेख्य वृद्धि भएको निर्यात त्यसपछिका वर्षहरूमा भने परिमाणका हिसाबले केही सुस्ताएको देखिन्छ ।

पछिल्लो तथ्यांक (२०८२/८३ को ५ महिना) विश्लेषण गर्दा रोचक तथ्य फेला परेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष निर्यात भएको सिमेन्टको तौल (टन) मा कमी आएको छ । तर, सिमेन्ट बेचेर प्राप्त हुने विदेशी मुद्रामा भने अघिल्लो वर्षको तुलनामा बढेको छ ।

गत वर्षको सोही अवधिमा नेपालबाट १ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बराबरको ६ लाख ९९ हजार ५१९ टन सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । तर, मूल्यमा भने १५ करोड २१ लाख रुपैयाँ बढी आम्दानी भएको छ । 

यसले नेपाली सिमेन्टले वैदेशिक बजारमा राम्रो मूल्य पाउन थालेको माग बढेको यस क्षत्रका जानकार बताउँछन् । 

नेपालबाट सिमेन्ट निर्यातको ४ वर्षको ट्रेन्ड हेर्दा आर्थिक वर्ष २०७९/८०: निर्यातको अवस्था कहालीलाग्दो रहेको छ । उक्त वर्ष नेपालबाट ५ महिनाको अवधिमा ४ करोड ४२ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार ७८६ टन सिमेन्ट निर्यात भएको थियो । 

आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा हेर्दा भने निर्यातले ऐतिहासिक फड्को मारेको देखिन्छ । जहाँ परिमाण र आम्दानी दुवै उच्च बिन्दुमा पुगेको भन्सार विभागको तथ्यांकले देखिएको छ । 

आव ८०/८१ को मंसिर मसान्तसम्ममा नेपालबाट १ अर्ब ४९ करोड २३ लाख ५३ हजार रुपैयाँ बराबरको १३ लाख २९ हजार ३०७ टन सिमेन्ट निर्यात भएको छ । जुन निर्यातको रेकर्ड अहिलेसम्म तोडिएको छैन । 

आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा भने निर्यातमा गिरावट आएको छ । 

सिमेन्टको निर्यात बढ्नुलाई स्वदेशी उत्पादनले आन्तरिक बजार धान्दै छिमेकी मुलुकमा निर्यात हुनु नेपालको व्यापार घाटा न्यूनीकरणका लागि सकारात्मक मानिएको छ । यद्यपि, परिमाणमा आएको गिरावटलाई चिर्दै निर्यातलाई कसरी दिगो र थप वृद्धि गर्ने भन्ने चुनौती भने कायम नै देखिन्छ ।

नेपालमा हाल दर्जनौँ सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । जसमध्ये केही ठुला उद्योगहरूले भारतका विभिन्न सहरहरूमा नियमित रूपमा सिमेन्ट निर्यात गर्दै आएका छन् । 

नेपालको चुनढुङ्गा राम्रो भएकाले नेपाली सिमेन्ट भारतमा राम्रो बजार पाएको कारणले गर्दा नेपालको सिमेन्ट निर्यात बढेको यो क्षेत्रका जानकार बताउँछन् । 


प्रतिक्रिया दिनुहोस्