बजेटकाे अर्धवार्षिक समीक्षा : सरकारको खर्च र आम्दानी दुबै कमजाेर, पूँजीगत खर्च १२ प्रतिशत मात्र - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजेटकाे अर्धवार्षिक समीक्षा : सरकारको खर्च र आम्दानी दुबै कमजाेर, पूँजीगत खर्च १२ प्रतिशत मात्र



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना वितिसक्दा पनि सरकारको खर्च र आम्दानीमा सुधार आउन सकेको छैन। महालेखा परिक्षकको कार्यालयका अनुसार साउनदेखि पुस मसान्तसम्म सरकारको राजस्व संकलन ३८. ३८ प्रतिशत र बजेट खर्च ३५.१४ प्रतिशत मात्र भएको छ ।

महालेखाकाे तथ्यांकअनुसार चालु आर्थिक वर्षकाे अर्धवार्षिक अवधिमा सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ५ खर्ब ८८ अर्ब ५१ कराेड ८२ लाख रूपैयाँ आम्दानी गरेको छ । जसमा ५ खर्ब १६ अर्ब ११ कराेड ५१ लाख रूपैयाँ (३८.९३ प्रतिशत) कर राजस्व तथा ६१ अर्ब २८ कराेड ४८ लाख रूपैयाँ (३९.६९ प्रतिशत) गैरकर राजस्व उठाएकाे छ ।

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले कर राजस्वबाट १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ र गैरकर राजस्वबाट १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकाे छ ।

यस्तै यस अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थामा कुल ३५.१४ प्रतिशत अर्थात ६ खर्ब ९० अर्ब २१ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ कराेड रूपैयाँ बजेट विनियाेजन गरेकाे छ।

पुस मसान्तसम्मकाे अवधिमा पूँजीगत खर्चकाे अवस्था सबैभन्दा कमजाेर देखिएकाे छ । अर्धवार्षिक अवधिमा सरकारले लक्ष्यकाे १२.१२ प्रतिशत अर्थात ४९ अर्ब ४२ कराेड ५४ लाख रूपैयाँ पूँजीगत खर्च गरेकाे छ । यस्तै यस अवधिमा चालु तर्फ ४१.२५ प्रतिशत अर्थात ४ खर्ब ८७ अर्ब १४ कराेड ३१ लाख र वित्तिय व्यवस्थापन तर्फ ४०.९५ प्रतिशत अर्थात १ खर्ब ५३ अर्ब ६४ कराेड ६९ लाख रूपैयाँ खर्च भएकाे छ ।

चालु आर्थिक वर्षकाे बजेट मार्फत सरकारले चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ कराेड, पूँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८८ कराेड ८० लाख र वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ कराेड २० लाख रूपैयाँ विनियाेजन गरेकाे थियाे ।

यस्तै यस अवधिमा सरकारले ७ अर्ब १० कराेड ६९ लाख रूपैयाँमा वैदेशिक अनुदान प्राप्त गरेकाे छ । जुन लक्ष्यकाे साढे १३.३ प्रतिशत मात्र हाे । यस वर्ष सरकाले ५३ अर्ब ४४ कराेड ६९ लाख रूपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्षय राखेकाे छ।


प्रतिक्रिया दिनुहोस्