पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धिः विद्युत् क्षेत्रकाे याेगदान उच्च, कृषि र निर्माण सुस्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धिः विद्युत् क्षेत्रकाे याेगदान उच्च, कृषि र निर्माण सुस्त



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र ३.०२ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) को त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.०२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो।

आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा खाद्यान्न वाली, वनपैदावर, निर्जीवन बिमा, आन्तरिक उत्पादनका निर्माण सामाग्री लगायतका उत्पादनमा देखिएको संकुचनका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अंकमा सिमित रहेको देखिन्छ।

यद्यपी, यस त्रैमासिकमा विद्युत उत्पादन तथा वितरण, वित्तिय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटन आगमन लगायतका विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।

समग्रमा यस त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरण सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ ।

अर्थतन्त्रमा कुन क्षेत्रकाे याेगदान कति ?

नेपालको अर्थतन्त्रमा कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये ऊर्जा क्षेत्रले उत्साहजनक प्रगति गर्दा परम्परागत रूपमा ठुलो हिस्सा ओगट्ने कृषि र निर्माण क्षेत्र भने केही सुस्त देखिएका छन्।

तथ्याङ्क अनुसार यो वर्ष विद्युत् तथा ग्यास क्षेत्र अर्थतन्त्रको सबैभन्दा बलियो अङ्गका रूपमा देखिएको छ। यस क्षेत्रले १४.९१ प्रतिशतको उच्च वृद्धिदर हासिल गरेको छ। नयाँ विद्युत् आयोजनाहरू प्रसारण लाइनमा जोडिनु र विद्युत् वितरणमा आएको सुधारले यसको योगदान बढेको हो।

त्यसैगरी, वित्तीय तथा बिमा क्षेत्रमा ७.०७ प्रतिशत र पेसागत, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा ५.५२ प्रतिशतको वृद्धि देखिएको छ, जसले सहरी अर्थतन्त्र चलायमान रहेको संकेत गरेकाे छ।

नेपाली अर्थतन्त्रको सबैभन्दा ठुलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर यो त्रैमासमा १.३६ प्रतिशतमा सीमित भएको छ। मुख्य बाली मानिने धानको उत्पादनमा केही कमी आए पनि पशुपालन र तरकारी खेतीमा भएको सामान्य वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सकारात्मक नै रहेको छ।

अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा ३.८९ प्रतिशतको वृद्धि देखिएको छ। स्वदेशी उत्पादन र आयातमा भएको बढोत्तरीले यो क्षेत्रलाई टेवा पुर्‍याएको हो।

मौसमी प्रभाव समायोजित तथ्याङ्कलाई हेर्दा निर्माण र खानी क्षेत्रमा भने चिन्ताजनक अवस्था देखिएको छ। अघिल्लो त्रैमासको तुलनामा खानी तथा उत्खनन् क्षेत्रमा १०.०५ प्रतिशतको भारी गिरावट आएको छ।

त्यस्तै, देशको विकास खर्च र पूर्वाधारसँग जोडिएको निर्माण क्षेत्र ४.१३ प्रतिशतले ऋणात्मक देखिएको छ। यसले बजारमा निर्माण सामग्रीको मागमा आएको कमी र विकास निर्माणका कार्यमा देखिएको सुस्ततालाई स्पष्ट पारेकाे छ।

तथ्याङ्क अनुसार अन्य सेवामूलक क्षेत्रहरूको अवस्था यस त्रैमासमा मिश्रित देखिएको छ। सूचना तथा सञ्चार क्षेत्रले ३.०६ प्रतिशतको उत्साहजनक धनात्मक वृद्धि हासिल गर्दा पर्यटनसँग सम्बन्धित आवास तथा भोजन क्षेत्रमा ०.०४ प्रतिशतको सामान्य वृद्धि देखिएको छ। तर, अन्य केही मुख्य सेवा क्षेत्रहरू भने ऋणात्मक रहेका छन्।

जसअनुसार यातायात तथा भण्डारण क्षेत्र १.८६ प्रतिशत र शिक्षा क्षेत्र १.३५ प्रतिशतले खुम्चिएका छन्। विशेषगरी सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा ५.९५ प्रतिशतको उच्च गिरावट देखिएको छ, जसले सेवा क्षेत्रको समग्र योगदानमा दबाब सिर्जना गरेको छ।

अर्थतन्त्र ३.०२ प्रतिशतले विस्तार हुने देखिए पनि त्रैमासिक आधारमा १३ वटा औद्योगिक क्षेत्र ऋणात्मक हुनुले अर्थतन्त्र अझै पनि पूर्ण रूपमा स्थिर भइनसकेको देखाउँछ।


प्रतिक्रिया दिनुहोस्