धान उत्पादन ४.२० प्रतिशतले घट्यो  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

धान उत्पादन ४.२० प्रतिशतले घट्यो 



काठमाडौं । नेपालको मुख्य खाद्यान्न बाली धानको उत्पादनमा यस वर्ष कमी आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको आ.व. २०८१/८२ को प्रारम्भिक अनुमान अनुसार धान उत्पादन गत वर्षको तुलनामा ४.२० प्रतिशतले घटेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ५५ लाख ५१ हजार १ सय २६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । जबकि गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रफल र उत्पादकत्वमा पनि गिरावट उत्पादनसँगै धान खेती गरिएको क्षेत्रफल र उत्पादकत्वमा पनि ह्रास आएको छ । यस वर्ष धान खेती गरिएको कुल क्षेत्रफल १३ लाख ७६ हजार ३२ हेक्टर कायम भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतले कम हो । त्यस्तै, धानको उत्पादकत्व गत वर्ष प्रति हेक्टर ४.१९ मेट्रिक टन रहेकोमा यस वर्ष १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।

पहाडी क्षेत्रमा बढ्दो बसाइसराइ र युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको मन्त्रालयले जनाएको छ । किसानहरू खाद्यान्न बाली छोडेर फलफूल तथा नगदे बालीतर्फ आकर्षित हुन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

तराई र शहरी क्षेत्रमा तीव्र रूपमा भइरहेको घरजग्गा प्लटिङ, औद्योगिकीकरण र भौतिक पूर्वाधार निर्माणका कारण खेतीयोग्य जमिन घटेको मन्त्रालयको अनुमान रहेको छ ।

यस वर्ष उन्नत बीउ र मलखादको पर्याप्त उपलब्धता भएता पनि धान लगाउने समयमा मधेस प्रदेश लगायतका क्षेत्रमा परेको खडेरी र प्रतिकूल मौसमका कारण उत्पादकत्वमा नकारात्मक असर परेको मन्त्रालयले जनाएको छ । त्यसले गर्दा पनि धान उत्पादनमा कमी आएको मन्त्रालयको भनाई छ । 

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत रहेको छ । जसमा धानबालीको मात्र योगदान करिब १२ प्रतिशत रहने गरेको छ ।

धान उत्पादनमा आएको यो गिरावटले मुलुकको खाद्य सुरक्षा र अर्थतन्त्रमा समेत प्रभाव पार्ने  मन्त्रालयकाले आकलन छ । मन्त्रालयले सात वटै प्रदेशका कृषि मन्त्रालय, एकीकृत पर्वतीय विकास केन्द्र र रिमोट सेन्सिङ प्रविधिको सहयोगमा यो तथ्याङ्क तयार पारेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्