निर्यात बढ्दा पनि १० खर्ब ८१ अर्ब नाघ्याे व्यापार घाटा, आयात १४.१८ प्रतिशतले वृद्धि
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) मा नेपालको वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटामा समेत वृद्धि देखिएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालको व्यापार घाटा ७ खर्ब ९७ अर्ब ०४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा १०.१५ प्रतिशतको वृद्धि हो ।
साउनदेखि पुस मसान्नतसम्मको अवधिमा नेपालमा वस्तु आयात १४.१८ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कुल ९ खर्ब ३९ अर्ब ०२ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको आयात भएको थियो ।
निर्याततर्फ भने नेपालले उल्लेख्य सुधार गरेको देखिएको छ। ६ महिनामा निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ०१ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्म मात्र ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको निर्यात भएको थियो । निर्यातको यो वृद्धि आयातको तुलनामा प्रतिशतका आधारमा उच्च देखिए पनि रकमका आधारमा भने निकै कम छ ।
यता यस अवधिमा मुलुककाे कुल वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब ०४ करोड ०८ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको (९ खर्ब २१ अर्ब १५ करोड) तुलनामा १७.३६ प्रतिशत बढी हो ।
नेपालको समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत र निर्यातको हिस्सा १३.१४ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा निर्यातको हिस्सा बढेको छ भने आयात-निर्यात अनुपात पनि ८.३२ बाट घटेर ६.६१ मा झरेको छ । यसले आयातको तुलनामा निर्यातको सन्तुलनमा केही सुधार आएको संकेत गरेकाे छ ।













