अब रोइलो मात्रै होइन, उत्सव पनि मनाऔँ, ३४ देश : जहाँ नेपालले वस्तु किन्दैन, बेच्छ मात्रै !
काठमाडौँ । नेपालको वैदेशिक व्यापारको चित्र सधैँ निराशाजनक र परनिर्भरताको मात्र छैन उत्साह पनि देखिन्छ । विशाल व्यापार घाटाको कहालीलाग्दो तथ्यांकलाई एकातिर पन्छाउने हो भने आसाको दियो भने देखिन्छ ।
नेपालले ठुलो घोटाको व्यापार गर्दै आएको छ । हामीले बर्सेनि खबैंको घाटाको व्यापार गर्दै आएका छौँ । विशेष गरेर हामीले भारत र चीनसँग ठुलो व्यापार घार देखिने गरेको छ ।
त्यसका बिचमा पनि ३४ यस्ता देश छन् जहाँ भने नेपालको व्यापार घाटामा होइन नाफामा गरेको छ । कतिपय देशमा त आयात नगरेर निर्यात मात्र गरेको छ ।
भन्सार विभागले चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिना (साउन–पुस)को आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्दा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । तर, त्यही व्यापारमा विश्वका ३४ यस्ता मुलुक छन् जहाँ नेपाली उत्पादनको ’शान’ र ’दबदबा’ उच्च छ ।
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार यी ३४ मुलुकसँगको व्यापारमा नेपालले ’व्यापार नाफा’ मात्र कमाएको छैन, कतिपय देशमा त नेपालले वस्तु आयात नै नगरी आफ्ना उत्पादनहरू मात्र निर्यात गर्ने गरेको छ ।
व्यापार नाफा भएको ३४ देशमा ३७ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात गर्दा सोही मुलुकबाट १ अर्ब ५ करोड ८५ लाख १७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । सो बाट नेपालले ६७ करोड ९० लाख ६७ हजार रुपैयाँ बराबरको व्यापार नाफा गरेको विभागको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढी व्यापार नाफा डेनर्माकले ४१ करोड ८६ लाख ८१ हजार रुपैयाँ बराबरको गरेको छ भने सबैभन्दा कम पापुआ न्यू गिनीमा १ लाख ३ हजार रुपैयाँ बराबरको मात्र भएको छ ।
९ वटा देशसँग भने नेपालले १ करोड रुपैयाँ भन्दा बढीको व्यापार नाफा गरेको छ । जसमा रोमानिया ५ करोड ९१ लाख ४९ हजार रुपैयाँ, स्वीडेन ३ करोड ३१ लाख ८० हजार रुपैयाँ, नाइजेरिया १ करोड ७३ लाख ४३ हजार रुपैयाँ, इराक १ करोड ७१ लाख ३० हजार रुपैयाँ, नर्वे १ करोड ६८ लाख ९० हजार रुपैयाँ, अमेरिकी सामोआ १ करोड ६५ लाख ४० हजार रुपैयाँ, आइसल्याण्ड १ करोड २५ लाख १६ हजार रुपैयाँ र सेशेल्स १ करोड ११ लाख ६० हजार रुपैयाँ रहेको छ ।

बाँकी १४ वटा देशसँग भने हाम्रो व्यापार नाफा १० लाख रुपैयाँ बन्दा बढी भएको छ भने ११ वटा देशसँग १० लाख भन्दा कम व्यापार नाफा रहेको विभागको तथ्यांकले देखाएका छ ।

यी मुलुकहरूमा नेपालबाट विशेष गरी मौलिक र उच्च गुणस्तरका वस्तुहरू जाने गरेका छन् । विशेष गरी चिया, हस्तकलाका सामग्री, गलैँचा, ऊनी कपडा, तयारी पोसाक, पाल्तु जनावरका खाना जस्ता वस्तुले ती बजारमा कब्जा जमाएका छन् । कतिपय युरोपेली मुलुकमा नेपाली हस्तकला र गलैँचाको माग यति उच्च छ कि त्यहाँबाट हामीले सुई पनि नकिनी करोडौँको सामान मात्र पठाउने गरेका छौँ ।














