चुनावको मुखमा जनकपुर पुगे पूर्वराजा ज्ञानेन्द्र, माता जानकीको पूजाआरधना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनावको मुखमा जनकपुर पुगे पूर्वराजा ज्ञानेन्द्र, माता जानकीको पूजाआरधना



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित माता जानकीको मन्दिर दर्शन गरेका छन् ।

सोमबार साँझ जानकी मन्दिर पुगेर शाहले पूजाअर्चनाका साथै दर्शन गरेका हुन्।

जानकी मन्दिरमा पूर्वराजा शाहलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न हिजैदेखि भक्तजन र पूर्वराजाका समर्थकहरुले साजसज्जा गरेर मन्दिर सिंगारेका थिए ।

सोमबार पनि शाहका थुप्रै समर्थकहरु मन्दिर परिसरमै पुगेर उनलाई स्वागत गरेका छन् । उनी आइतबार नै जनकपुर पुगेका हुन् । त्यहाँ आफ्ना समर्थकहरुसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफूहरु ‘मधेश’ शब्दको उच्चारण नगर्ने बताउँदै आएका छन् । राजशाहीले पूर्वदेखि पश्चिमसम्मको समथर नेपाललाई ‘तराई’ भन्ने गरेको छ ।

शाहले जनकपुर पुगेर आफ्नो यात्रा विशुद्ध धार्मिक रहेको बताएका छन् । परिवारसहित जानकी माताको मन्दिर दर्शन गर्न पुगेका शाहले त्यहाँका अन्य मठमन्दिरमा पनि पूजा–पाठ गरेका छन् ।

जानकी मन्दिरमा पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो ‘पारिवारिक धार्मिक यात्रा’ भएको बताए ।

आगामी फागुन २१ मा प्रतिनिधी सभाको निर्वाचन हुन लागेका बेला जनकपुर पुगेका शाहको यस भ्रमण राजनीतिक लक्ष्यप्रेरित हुनसक्ने अनुमान केही व्यक्तिले गर्दै आएका थिए । तर पूर्वराजा स्वयंले भने यो आशंकालाई अस्वीकार गरिदिएका छन् ।

उनी यसअघि पनि पटक पटक जनकपुरधाम पुगेर माता जानकीको पूजाआरधना गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्