सरकारले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ’विकास ऋणपत्र २०९१’ नामक ऋणपत्र बिक्री गर्ने भएको हो ।
उक्त ऋणपत्र ९ वर्षको भएको सूचनामा उल्लेख छ । ऋणपत्रमा आगामी माघ १४ गते बुधवार बोलकबोल खुला हुने जनाएको छ । साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुने सूचनामा उल्लेख छ ।
ऋणपत्रको अर्धवार्षिक रूपमा हुने ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिने सूचनामा भनिएको छ ।
यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले आवेदन दिन सक्नेछन् । कुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ८५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाहरूका लागि र बाँकी १५ प्रतिशत अर्थात् १५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्टाइएको छ ।
यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था रहेको छ । दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डिओएमएस प्रणाली मार्फत हुनेछ ।
इच्छुक खरिदकर्ताले माघ १४ गते बुधवार बिहान १० बजेदेखि अपराह्न २ बजेभित्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणालीमा पेस गर्नुपर्ने छ ।
















