नेपाली अनुहारमा विदेशी चमक: आधा वर्षमै पौने ७ अर्बको मेकअप सामग्री आयात, लिप्सिटिक, नेल पोलिस र स्याम्पुमा मात्र ६८ करोड ६४ लाख स्वाहा !
काठमाडौं । नेपाली उपभोक्ताले पछिल्लो ६ महिनामा मात्रै ६ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको विभिन्न सौन्दर्य सामग्री (कस्मेटिक) प्रयोग गरेका छन् । विलासिता र दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुने लिप्सिटिक, नेल पोलिसदेखि हेयर कन्डिसनरसम्मका सामग्री आयात गर्दा राज्यको अर्बौँ रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनामा कुल ६ अर्ब ७३ करोड २५ लाख ३६ हजार रुपैयाँ बराबरका सौन्दर्य सामग्री नेपाल भित्रिएका छन् । यसबाट सरकारले ३ अर्ब ५० करोड ८२ लाख ६८ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।

आयात भएको कस्मेटिक सामाग्रीमा लिप्सिटिक, नेल पोलिस र स्याम्पुमा मात्र ६८ करोड ६४ लाख रुपैयाँ नेपालको बाहिरिएको छ । जसमा लिप्सिटिकमा नेपालीले ६ महिनामा ४० करोड ३९ लाख ९५ हजार रुपैयाँ बराबरको १ लाख १८ हजार २२६ केजी लगाएका छन् । यो आयात हुने कस्मेटिक सामानको हिसाबले सातौँ नम्बरमा हरेको छ ।
नेपालीले नेल पोलिसमा मात्र २ करोड ६५ लाख ८३ हजार रुपैयाँ सिद्ध्याएका छन् । नेपालमा ८ हजार ६३८ लिटर नेल पोलिस आयात हुँदा १ करोड ३२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आयातको हिसाबले यो चौधौँ नम्बरमा हरेको छ ।
समीक्षा अवधिमा नेपालीले स्याम्पुमा मात्र ५९ करोड ६७ लाख १७ हजार रुपैयाँ सिद्ध्याएका छन् । ६ महिनामा नेपालीले ११ लाख ८५ हजार ४१२ लिटर स्याम्पु लगाउँदा सरकारलाई ३४ करोड १३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । कस्मेटिक सामानको आयातका हिसाबले यो तेस्रो नम्बरमा रहेको छ ।

आयातित सामग्रीमध्ये सबैभन्दा बढी खर्च अन्य सौन्दर्य सामग्री शीर्षकमा २ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखिएको छ । ६ महिनाको अवधिमा १३ लाख ९ हजार ६३१ केजी अन्य सौन्दर्य सामाग्री आयत हुँदा १ अर्ब २५ करोड ७ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
समीक्षा अवधिमा फेस क्रिममा मात्र ८८ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । यस्तो क्रिम ६ महिनामा ३ लाख २२ हजार ८३५ केजी आयत हुँदा ४५ करोड ९ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
६ महिनामा कपाल रङ्ग्याउने रङ्ग मात्र ५६ करोड ४९ लाख रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै ६ महिनामा बडी लोसन ४० करोड ९१ लाख रुपैयाँको, कपालमा प्रयोग हुने अन्य सामाग्री ५६ करोड १८ लाख रुपैयाँको, कपालमा लगाउने तेल ३४ करोड ६७ लाख रुपैयाँको, कपाल सेट गर्ने स्प्रे १७ करोड ७० लाख रुपैयाँको, आँखाको मेकअपमा १२ करोड ३५ लाख रुपैयाँ, पाउडरमा ९ करोड २३ लाख रुपैयाँ बाहिरिएको छ ।
साथै, हेयर कन्डिसनरमा ६ करोड ३१ लाख रुपैयाँ, पेट्रोलियम जेली (छालाको सुरक्षाका लागि खुद्रा बिक्रीमा प्याक गरिएको)मा ५ करोड ५४ लाख रुपैयाँ, मेनीक्योर र पेडीक्योरमा २ करोड ४८ लाख रुपैयाँ, कपाल सीधा बनाउने सामाग्रीमा २ करोड २५ लाख रुपैयाँ, हेयर क्रिममा १ करोड ७६ लाख रुपैयाँ र सिँदुरमा ५४ लाख ९८ हजार रुपैयाँ नेपालीले सिद्ध्याएका छन् ।













