काठमाडौं बिजनेश एक्सपोको दोस्रो दिन उत्साहजनक सहभागिता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

काठमाडौं बिजनेश एक्सपोको दोस्रो दिन उत्साहजनक सहभागिता



काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) को आयोजनामा भृकुटीमण्डपमा सञ्चालन भइरहेको “काठमाडौं महोत्सव २०८२ तथा काठमाडौं बिजनेश एक्सपो २०२६” को दोस्रो दिन दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागितासहित उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

दोस्रो दिन काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट आएका अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । स्वदेशी तथा विदेशी उत्पादन, महिला उद्यमीहरूद्वारा उत्पादित सिपमूलक वस्तु, ‘एक वडा–एक उत्पादन’ अवधारणाअन्तर्गतका सामग्री, हस्तकला, कृषि तथा घरेलु उद्योगका उत्पादनप्रति दर्शकहरूको विशेष आकर्षण देखिएको छ ।

महोत्सवमा सहभागी प्रदर्शकहरूले प्रत्यक्ष बिक्री, व्यावसायिक नेटवर्क विस्तार तथा नयाँ बजारको सम्भावना देखिएको छ । विशेष छुट तथा अफरका कारण दोस्रो दिन उल्लेखनीय कारोबारसमेत भएकोे छ ।

रैथाने खानाका परिकार, सांस्कृतिक झाँकी, लोकनृत्य, संगीत तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू महोत्सवका प्रमुख आकर्षण बनेका छन् । दोस्रो दिनको सहभागिताले महोत्सवको उद्देश्य सही दिशामा अघि बढिरहेको साथै स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको छ।

चार दिनसम्म सञ्चालन हुने यस महोत्सवका आगामी दिनहरूमा थप सांस्कृतिक कार्यक्रम, व्यवसायिक अन्तरक्रिया तथा विशेष गतिविधिहरू आयोजना गरिने छ ।


प्रतिक्रिया दिनुहोस्