नेपालको बैंकिङ क्षेत्र: 'एक्स्ट्रिम' चटक र सुधारको कठोर बाटो - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेपालको बैंकिङ क्षेत्र: ‘एक्स्ट्रिम’ चटक र सुधारको कठोर बाटो



नेपालको वित्तीय इतिहासमा विगत एक दशक ‘अस्वाभाविक विस्तार’ को समय रह्यो। एउटा यस्तो समय, जहाँ बैंकहरूबीच सेवाको गुणस्तरमा होइन, अंकको दौडमा प्रतिस्पर्धा भयो। शाखाको संख्या, निक्षेपको आकार, र कर्जाको आयतन नै सफलताको एक मात्र मानक बन्यो।

तर, यो आक्रामक वृद्धिको जगमा कति ठुलो ‘सिस्टेमिक’ जोखिम लुकेको थियो भन्ने कुरा अहिले सतहमा आएको छ। म जुन संस्थाको नेतृत्व गर्दैछु, त्यो यसै ‘एक्स्ट्रिम बैंकिङ’ को केन्द्रविन्दुमा थियो। आज हामी केवल एउटा बैंकको सुधार मात्र होइन, नेपाली बैंकिङको विचलित दर्शनलाई नै पुनः परिभाषित गर्ने मोडमा छौँ।

भ्रमको तरलता र यथार्थको सङ्कट

नेपालको बैंकिङ क्षेत्र अहिले एउटा विचित्रको ‘ट्र्याप’ (पासो) मा छ। बाहिरी आँखाले हेर्दा नेपालको अर्थतन्त्रका आधारभूत सूचकहरू सन्तुलित देखिन्छन्। विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, शोधनान्तर बचत उत्साहजनक छ, र बैंकहरूमा लगानीयोग्य रकम को थुप्रो छ। यो एउटा यस्तो ‘ट्र्याप’ हो, जसले भित्रभित्रै खोक्रो भइरहेको आन्तरिक बजारलाई लुकाइरहेको छ।

बजारमा वस्तु र सेवाको माग शून्यप्राय: छ। घरजग्गाको कारोबार, जुन नेपाली बैंकिङको मुख्य आधार रहँदै आयो, अहिले ३० देखि ४० प्रतिशतको गिरावटमा छ। सबैभन्दा डरलाग्दो पक्ष ‘जनसाङ्ख्यिकीय पलायन’ हो।

आज गाउँका बाबुआमाले ऋण काढेर सन्तानलाई विदेश पठाइरहेका छन्। ती युवाहरू अब फर्कने छैनन्। उनीहरूलाई यहाँ घडेरी जोड्नु छैन, घर बनाउनु छैन। बरु यहाँको पुर्ख्यौली सम्पत्ति बेचेर उतै लैजाने प्रवृत्ति बढेको छ। यसले रियल स्टेट (घरजग्गा) र उपभोगमा आधारित हाम्रो बैंकिङ मोडेललाई दीर्घकालीन धक्का दिएको छ।

‘एक्स्ट्रिम बैंकिङ’: बाट चुनौतीसम्म

विगतमा हामीले अपनाएको ‘एक्स्ट्रिम’ शैली– जहाँ एकै महिनामा ३० अर्बसम्मको व्यवसाय बढाउने र सयौँ शाखा एकैपटक खोल्ने होडबाजी भयो। १३ प्रतिशत ब्याज दिएर निक्षेप तान्ने र बिना कुनै ठोस आधार कर्जा विस्तार गर्ने प्रवृत्तिले सिङ्गो उद्योगलाई नै असुरक्षित बनायो।

त्यसको नतिजा नै अहिलेको जस्तो साढे सात अर्बको घाटा र उच्च खराब कर्जा हो।

हाम्रो तथ्याङ्कले भन्छ,– साना तथा मझौला उद्योग (एसएमई) र कृषि क्षेत्रमा प्रवाह भएको कर्जामा सबैभन्दा बढी समस्या छ। उधारो बजारमा पैसा फस्ने तर उत्पादन गर्ने उद्योग सुरक्षित हुने ‘भ्यालु चेन’ को असफलताले साना व्यवसायीहरू मारमा परेका छन्। परिणामस्वरुप, बैंकिङ क्षेत्रको एनपीए अहिले दोहोरो अंकमा पुग्ने खतरामा छ।

सुधारको कठोर ‘सर्जरी’

धेरैले सोध्छन्– के अब चमत्कार हुन्छ? मेरो उत्तर स्पष्ट छ: बैंकिङमा कुनै चमत्कार हुँदैन, यहाँ केवल गणित र अनुशासन हुन्छ। हामीले अहिले जुन खाल्डो पुरिरहेका छौँ, त्यसलाई सन्तुलनमा ल्याउन कम्तीमा दुई वर्ष लाग्नेछ। यो अवस्था रातारात सुध्रिने खालको छैन।

हामी अब ‘लोन बेच्ने’ दौडमा छैनौँ। हाम्रो प्राथमिकता अब ‘रिकभरी’ (असुली) र पूँजीको सुदृढीकरणमा हुनेछ। हामीले एउटा बृहत् ‘सर्जरी’ सुरु गरिसकेका छौँ । हामीले लिइरहेका केही कठोर कदमहरू यस्ता छन्:

१. नेटवर्कको पुनर्संरचना: हामीले ६ वटा महानगरपालिकामा रहेका ४४ वटा शाखाहरू बन्द गर्ने निर्णय गरेका छौँ। यसले सञ्चालन खर्चमा उल्लेख्य कटौती गर्नेछ। यो संख्यात्मक संकुचन मात्र होइन, दक्षताको खोजी हो।

२. पूँजीको सुदृढीकरण: ‘टियर वान क्यापिटल’ बढाउन हकप्रद र प्रिफरेन्स सेयरको प्रक्रिया अघि बढेको छ। पूँजी बलियो नभई बैंक बलियो हुँदैन।

३. रिकभरीको नयाँ भाष्य: हामी अक्सन नोटिस (लिलामी) निकालेर वा ऋणीलाई त्रसित बनाएर मात्र पैसा उठ्छ भन्ने भ्रममा छैनौँ। ऋणीहरू आफैँ सङ्घर्षमा छन्। उनीहरूसँगको व्यवहारमा ‘मानवीय संवेदना’ र ‘व्यावसायिक समाधान’ खोज्नु हाम्रो प्राथमिकता हो। त्यसैले ऋणीलाई ४०-५० पटक लिलामीको सूचना निकालेर मानसिक तनाव दिने वा प्रहरी पठाएर असुली गर्ने ‘तुच्छ’ कार्य अब बन्द हुनेछ। हामी ऋणीको वास्तविक समस्या बुझ्ने र उनीहरूलाई पनि बाँच्ने ठाउँ दिने गरी अघि बढ्नेछौँ।

४. कर्पोरेट पोर्टफोलियोमा स्थानान्तरण: साना तथा मझौला उद्योगमा देखिएको जोखिमलाई मध्यनजर गर्दै हामीले अब साना र छरिएका कर्जाभन्दा स्थापित कर्पोरेट क्षेत्रमा लगानीको मिश्रण (पोर्टफोलियो मिक्स) परिवर्तन गर्दैछौँ।

५. कर्मचारी सुरक्षा: डर र त्रासको वातावरणमा काम गराउने वा गर्भवती कर्मचारीलाई दुख दिने जस्ता विगतका गलत संस्कारहरूलाई हामीले पूर्णतः निषेध गरेका छौँ।

अबको गन्तव्य: तुलना होइन, आफ्नै सुधार

नेपालको बैंकिङ उद्योगमा एनपीए दोहोरो अंकमा पुग्नु भनेको समग्र ‘बिजनेस फेलर’को संकेत हो। घरजग्गाको मूल्यमा आएको ३०-४० प्रतिशतको गिरावट र मध्यमवर्गीय परिवारको विदेश पलायनले गर्दा आगामी दिन झन् चुनौतीपूर्ण हुन सक्छन्।

तसर्थ: सपनाहरू ग्राउन्डेड (यथार्थपरक) हुनुपर्छ। आजको दिनमा कुनै बैंकसँग टक्कर दिने कुरा गर्नु मूर्खता हुनेछ। हाम्रो लक्ष्य भनेको बैंकलाई फेरि एक पटक पारदर्शी र बलियो ट्र्याकमा ल्याउनु हो।

हिजो हामीले नबिल वा राष्ट्रिय वाणिज्य बैंक जस्ता संस्थाहरूलाई पनि आक्रामक हुन बाध्य पार्यौँ होला, तर आज हाम्रो प्रतिस्पर्धा उनीहरूसँग होइन। हाम्रो प्रतिस्पर्धा हाम्रै हिजोको प्रवृत्तिसँग हो। आजको दिनमा कुनै पनि बैंक पूर्णतः सुरक्षित छैनन्, चाहे त्यो ठेकेदारहरूको ‘ग्यारेन्टी हिट’ भोगिरहेका संस्था हुन् वा कर्जा थपेर ग्रोथ देखाइरहेकाहरू।

हाम्रो लक्ष्य अब ‘नम्बर वान’ हुने होइन, ‘मोस्ट ट्रस्टेट’ (सबैभन्दा विश्वासिलो) हुने हो। ४ हजारबाट कर्मचारी संख्यालाई प्राकृतिक रूपमा व्यवस्थापन गर्दै, डररहित कार्यथलो निर्माण गर्दै र नियामकको विश्वास जित्दै हामी अघि बढ्नेछौँ।

तर, म आश्वस्त पार्न चाहन्छु– एनआइसी एसिया डुब्दैन। दुई वर्षपछि जब हामी यो संकटबाट बाहिर निस्कनेछौँ, यो बैंक पहिलेभन्दा धेरै स्ट्रङ र जिम्मेवार भएर निस्कनेछ।

त्यतिबेला एनआइसी एसिया हिजोको जस्तो ‘ग्लामरस’ नहोला, तर यो एउटा यस्तो चट्टान जस्तो बलियो संस्था हुनेछ, जसले नेपालको वित्तीय स्थायित्वमा नेतृत्वदायी भूमिका खेल्नेछ। नियामक र लगानीकर्ताले चाँडै एउटा नयाँ र सुदृढ एनआइसी एसिया देख्न पाउनेछन्।

(एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत शाक्यसँग अर्थपथले गरेको कुराकानीका आधारमा तयार पारिएको लेख)


प्रतिक्रिया दिनुहोस्