राजस्व सङ्कलनमा सुधार: ७ महिनामा ६ खर्ब ६९ अर्ब सरकारी ढुकुटीमा, भन्सार र भ्याटको योगदान उच्च - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राजस्व सङ्कलनमा सुधार: ७ महिनामा ६ खर्ब ६९ अर्ब सरकारी ढुकुटीमा, भन्सार र भ्याटको योगदान उच्च



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ २९ गतेसम्ममा कुल ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

महालेखा नियन्त्रक कार्यालयको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त तथ्याङ्क अनुसार यो सङ्कलन वार्षिक लक्ष्यको ४५.२२ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म ६ खर्ब ४६ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा यस वर्षको समीक्षा अवधिमा ३.४५ प्रतिशतको वृद्धि देखिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि माघ २९ सम्मको लक्ष्य ८ खर्ब १३ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो, जसको तुलनामा ८२.२६ प्रतिशत मात्र प्रगति हासिल भएको छ।

माघ महिनाको मात्र लक्ष्य १ खर्ब २ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ रहेकोमा माघ १ गतेदेखि २९ गतेसम्म ८३ अर्ब ५१ करोड २३ लाख रुपैयाँ सङ्कलन भएको छ, जुन मासिक लक्ष्यको ८१.५४ प्रतिशत हुन आउँछ।

शीर्षकगत राजस्व सङ्कलनको अवस्था हेर्दा भन्सार महसुलतर्फ १ खर्ब ३५ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ सङ्कलन भएको छ, जुन गत वर्षको तुलनामा ७.५३ प्रतिशतको वृद्धि हो।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ कुल १ खर्ब ९६ अर्ब रुपैयाँ सङ्कलन भएको छ, जसमा आन्तरिक भ्याटबाट ७७ अर्ब ९५ करोड र पैठारीतर्फबाट १ खर्ब १८ अर्ब ४ करोड रुपैयाँ योगदान रहेको छ। भ्याट सङ्कलनमा अघिल्लो वर्षको तुलनामा ७.६३ प्रतिशतको सुधार देखिएको छ।

अन्तःशुल्कतर्फ १ खर्ब ५ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ सङ्कलन भएको छ, जसमा आन्तरिक उत्पादनबाट ४९ अर्ब ४४ करोड र पैठारीतर्फबाट ५५ अर्ब ९९ करोड रुपैयाँ प्राप्त भएको छ। अन्तःशुल्क सङ्कलनमा १०.८८ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ।

आयकरतर्फ भने १ खर्ब ७३ अर्ब ५५ करोड ९० लाख रुपैयाँ सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.८१ प्रतिशतको सामान्य गिरावट हो। अन्य शीर्षकहरूमा गैर-कर राजस्वतर्फ ६५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ सङ्कलन भएको छ भने शिक्षा सेवा शुल्कबाट १ अर्ब ५ करोड र वैदेशिक रोजगार सेवा शुल्कबाट ६७ करोड ९० लाख रुपैयाँ सङ्कलन भएको छ।

विभागगत प्रगति र अन्य प्राप्ति

विभागगत रूपमा हेर्दा भन्सार विभागले वार्षिक लक्ष्यको ४७.३३ प्रतिशत अर्थात् २ खर्ब ७८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ असुली गरेको छ ।

आन्तरिक राजस्व विभागले वार्षिक लक्ष्यको ४३.५२ प्रतिशत अर्थात् ३ खर्ब २० अर्ब ८८ करोड ६५ लाख रुपैयाँ सङ्कलन गरेको छ । माघ २९ गते एकै दिन मात्र सरकारले ४१ करोड ६८ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

अन्य शीर्षकहरूमा शिक्षा सेवा शुल्कबाट ३ अर्ब ४४ करोड ७५ लाख र पूर्वाधार करबाट ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ सङ्कलन भएको छ ।

राजस्व सङ्कलनमा केही सुधार देखिए पनि माघ मसान्तसम्मको अवधिक लक्ष्यको तुलनामा करिब १८ प्रतिशत कम राजस्व उठेकाले राजस्वको वार्षिक लक्ष्य भेट्टाउन आगामी महिनाहरूमा सङ्कलनको दरलाई अझ तीव्र बनाउनुपर्ने चुनौती सरकार सामु रहेको छ।


प्रतिक्रिया दिनुहोस्