घरजग्गा काराेबारमा देखिएन उत्साह: माघमा खुम्चियो मालपोत राजस्व - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

घरजग्गा काराेबारमा देखिएन उत्साह: माघमा खुम्चियो मालपोत राजस्व



काठमाडाैं । घरजग्गा कारोबार सुस्त बन्दा गत पुसको तुलनामा माघ महिनामा मालपोत राजस्वमा केही गिरावट आएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका मालपोत कार्यालयहरूबाट माघ महिनामा कुल ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

पुस महिनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएकोमा माघमा भने सो रकममा केही गिरावट देखिएको हो।

विभागको तथ्याङ्क अनुसार घरजग्गाको कारोबारमा अझै पनि अपेक्षित रूपमा सुधार आउन सकेको छैन। यद्यपि, गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा भने केही वृद्धि भएको छ। यस महिना देशभरका मालपोत कार्यालयहरूबाट कुल ५० हजार ८३७ वटा लिखत पारित भएको विभागले जनाएको छ।

संकलित राजस्वको विवरण अनुसार रजिस्ट्रेसन दस्तुरबाट सबैभन्दा बढी अर्थात् २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ प्राप्त भएको छ। त्यसैगरी, पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ र सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ संकलन भएको छ।


प्रतिक्रिया दिनुहोस्